नेभिगेशन
राजनीति

एमालेबाट निकालिएका भिम रावललाई राजावादीमा ल्याउने तयारी

काठमाडौं- राजावादी आन्दोलनमा विभाजन आएको छ । कमल थापा, केशरबहादुर विष्टसहित केही पूर्वपञ्चले वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीलाई नै अघि लगाएर आन्दोलन जारी राख्ने गरी आन्दोलनको नयाँ स्वरूप सार्वजनिक गरेका छन् । 

यही वेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने मनसुन सुरु भइसकेकाले अहिलेको आन्दोलन सकिएको बताएका छन् । पूर्वपञ्चबाहेकका राजावादीले भने नवराज सुवेदी, थापासहितलाई सल्लाहकारमा सीमित राखेर युवा नेतृत्वमा आन्दोलन अघि बढाउने तयारी गरेका छन् । 

उनीहरूले नेपाली कांग्रेसबाट शंकर भण्डारी, एमालेबाट निकालिएका डा. भीम रावलसहितका नेतालाई लिएर नयाँ ढंगले आन्दोलन गर्ने तयारी गरेका छन् । कांग्रेसका भण्डारीले पार्टीभित्रै हिन्दुराष्ट्र अभियान चलाइरहेका छन् ।

“युवाहरूले बनाएको योजनाअनुसार चल्न सके अहिलेकै संयुक्त जनआन्दोलन परिचालन समितिमार्फन अन्दोलन गर्ने अन्यथा युवाहरूकै नेतृत्वमा नयाँ जनआन्दोलन परिचालन समिति गठन गरेर अघि बढ्ने तयारी भएको छ,” संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले भने, “अबको आन्दोलन नेपाली कांग्रेसमा हिन्दुराष्ट्र अभियानको नेतृत्व गरिरहेका शंकर भण्डारी, एमालेबाट विद्रोह गरेका डा. भीम रावलसहितलाई समेटेर हुनेछ ।”  

उनका अनुसार, सुवेदी, थापासहितका संयुक्त जनआन्दोलन समितिमा रहेका पाका उमेरका नेतालाई सल्लाहकार राखेर अबको आन्दोलन हुनेछ । 

संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले भने आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । “हटाउने भए हटाएर देखाए हुन्छ,” उनले भने, “आन्दोलन चल्छ भने मलाई हटाउने विषय सामान्य हो ।”   

राजावादी आन्दोलनमा चार पार्टीबाहेक ४१ विभिन्न अभियान, अभियन्ता समूह, क्लब संलग्न छन् । यही जेठ २१ मा संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ देखि जेठ १५ सम्मका आन्दोलनमा भएका उपलब्धि र कमजोरी केलाउँदै नयाँ राणनीति बनाउन समीक्षा बैठक राखेको थियो । मिडिया राखेर समीक्षा बैठकलाई भाषण गर्ने थलो बनाएको भनेर संयोजक सुवेदी, थापासहितको विरोध भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

सदनमा फेरि विपक्षीको अवरोध