नेभिगेशन
राजनीति

राजनीतिमा पनि छु, किनभने हाम्रो पुस्तालाई देशमा राख्न हामीले नै केहि गर्नु पर्छ - डा. सुजन कडरिया

चिकित्सकहरू नेपालमा बस्दैनन् । अहिले कसैले पनि नेपालको मेडिकल क्षेत्रका बारेमा कुरा गर्यो भने यो वाक्य समावेश गर्ने निश्चित छ । हुन पनि कुनै पनि एमबिबिएस ब्याचका विद्यार्थीहरूको संख्या हेर्ने हो भने अधिकांश नेपाल छोडेर गइसकेका हुन्छन् । नेपालमा नै रहेका चिकित्सकहरूको संख्या एकदमै कम हुने गरेको छ । मानौँ कि नेपालमा एमबिबिएस गरिसके पछि विदेश जानु एकमात्र विकल्प हो र नेपालमा बस्नु चै अपवाद ।

चिकित्सकहरूले गर्ने लगानी र मिहिनेत अनुसार उनीहरूले नेपालमा प्राप्त गर्ने प्रतिफलको अनुपात एकदमै अमिल्दो छ । तर उनै चिकित्सकहरू युरोप, अमेरिका जस्ता ठाउँहरूमा पुग्ने हो भने उनीहरूले आम्दानी गर्न सक्ने सम्भावना एकदमै धेरै हुन्छ । यो अनुपातको बेमेल बिच नेपालमा नै बसिरहन साँच्चै नै दृढ आत्मविश्वास चाहिन्छ भन्ने कुरामा सायदै दुईमत होला । 

यहि अवस्थामा अनेरास्ववियूको हुन लागेको नेतृत्व चयनमा एउटा नाम छ, डा. सुजन कडरिया । नेपालमा नै एमबिबिएस गरेर नेपालमा नै बसिरहेका कम चिकित्सकहरू मध्ये उनी पनि एक हुन् । उनलाई नेपाल बस्नु विकल्प वा दृढ आत्मविश्वासको परिणाम हो भन्ने लाग्दैन । उनी भन्छन्, 'नेपाल घर हो । घर बस्नका लागि कारण चाहिदैन ।' 

डा. सुजन कडरियालाई देशप्रतिको योगदान स्वास्थ्य सेवामा मात्र सिमित गर्नु पर्छ भन्ने लाग्दैन । उनी राजनीतिबाट पनि देशप्रतिको जिम्मेवारी बहन गर्नु पर्छ भन्ने लाग्छ । यसैले उनी राजनीतिमा पनि उत्ति नै सक्रिय छन् र आफ्नो सक्रियता तथा भुमिका पनि बढाउन चाहन्छन् । 

‘मेरो ब्याचमा रहेका विद्यार्थी मध्ये अहिले थोरै मात्र नेपालमा छौँ । यो देख्दा मलाई झन् नेपाल मै केहि गर्नु पर्छ भन्ने लाग्छ । हामीले बोलेर मात्र हुन्न, आफै अगाडि बढेर आफ्नै पुस्ताको मन छुने उदाहरण बनाउन सकौँ । ताकि साथीहरू कम हुँदै गरेको देख्न नपरोस् । देशको सम्भावनामा मानिसहरूलाई विश्वास होस् ।’ डा कडरिया भन्छन् । 

यसैले डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षका प्रत्याशी बनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति