नेभिगेशन
राजनीति

राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो :  परराष्ट्रमन्त्री देउवा

धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभूत अधिकार भएको बताएकी छन्। राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आज (शनिबार) धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्दा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘राहदानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ। त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ। सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला।’

सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन् कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा. राणाले बताएकी छन् । उनले भनिन्, ‘राहदानी लिनका लागि पहिले जस्तो जटिल अवस्था अहिले छैन । तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु । सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वाभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरुकै भूमिका बढी रहन्छ।’

उनले राहदानी सम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन्। उनले भनिन्, ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरुले सरकारलाई सुझाव दिन सक्नु हुनेछ। त्यसमा सरकारले समयानुकुलु सुधार गर्दै लैजानेछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति