नेभिगेशन
राजनीति

माधव नेपाललाई मुद्दा लागेपछि एकीकृत समाजवादीको कमान्ड पाण्डेको हातमा, खनाल बाइपास

काठमाडौं– सम्मानित नेता झलनाथ खनाललाई बाइपास गर्दै नेकपा एकीकृत समाजवादीको कमान्ड बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पाउने भएका छन्।

पार्टी र संसदीय दलको कमान्ड उनले गर्नेगरी तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ। पार्टीमा सम्मानित नेता खनालको बरियता अध्यक्ष माधवकुमार नेपालपछि छ। 

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा खरिदमा भ्रष्टाचार गरेको भनी मुद्दा दायर गरेपछि एकीकृत समाजवादीलाई चलायमान बनाउनका लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाण्डेले पाउनेगरी चर्चा चलेको छ। 

अध्यक्ष नेपालले नै उक्त जिम्मेवारी दिने चर्चा बैठकहरुमा चलाएको दाबी गरिन्छ।

संसदीय राजनीतिमा लामो अनुभव भएको, स्थानीय विकासमन्त्री, मुख्यमन्त्री भएर राज्य सञ्चालन अनुभव लिएको, माधव नेपालसँगको निकट रहेको र पार्टी कमिटीको जिम्मेवारी लगायतले पनि उनैले यी जिम्मेवारी पाउने उनीहरूको भनाइ छ।

उसो त विदेश भ्रमणमा जाँदा नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई नै दिँदै आएका छन्।

उनले वैशाखको अन्तिमतिर नै नेपालले आफूमाथि अख्तियारले चाल्ने कदमबारे आशंका गर्दै पार्टी हाँक्ने जिम्मा पाण्डेलाई दिने संकेत गरिसकेको दाबी गरे।

भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरिरहेका छन्। विपक्षी दलबीच हुने सबै बैठकमा पाण्डे सहभागी हुँदै आएका छन्।

२०४८, २०५१, २०५६, २०७० र २०७९ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। २०७४ को निर्वाचनमा भने उनी मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेशमा लडेका थिए। एमाले विभाजन भएर एकीकृत समाजवादी बनाउँदा नेपाललाई बलियो साथ दिनेमा पाण्डे पनि एक हुन्।

नेपाललमा मुद्दा दायर हुनासाथ पहिलो प्रतिक्रिया दिँदै पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध लिएको बताएका थिए। उनी माधवकुमार नेपालका एक बलियो पिल्लर मानिन्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति