नेभिगेशन
राजनीति

NEWS FLASH: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा अदालतमा मुद्दा दर्ता

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

प्रधानमन्त्री पदमा बहाल रहेका बेला मन्त्रिपरिषदबाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोपमा अभियोगपत्र दर्ता गराइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपसहित नेपालविरुद्ध अभियोग पत्र दर्ता गराएको हो। 

नेपालको इतिहासमा प्रधानमन्त्री पदमा रहँदा भ्रष्टाचार गरेको आरोपसहित पूर्व वा बहालवाला कुनै पनि प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर भएको यो पहिलो पटक हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले क्यानडानेपालसँग भने,‘पूरा जानकारी आइसकेको छैन, साथीहरू अदालतमा जानुभएको छ।’

अख्तियार उच्च स्रोतले आफूले पनि सुनेको तर आधिकारिक रुपमा जानकारी प्राप्त नभैसकेको जनायो।

हदबन्दी छुटमा पतञ्जली आयुर्वेदले काभ्रेपलाञ्चोकमा किनेको सयौं रोपनी जग्गा अपचलन गरेर गैरकानुनी रुपमा बिक्री गर्न नेपालकै मन्त्रिपरिषदले निर्णय गरेर अनुमति दिएको खुलासा भएपछि उनीविरुद्ध अनुसन्धान सुरु भएको थियो। 

२०६४ मा नेपालमा दर्ता भएको पतञ्जली आयुर्वेदले २०६६ मा काभ्रेमा ५९० रोपनीभन्दा बढी जग्गा हदबन्दी छुटमा किनेको थियो। 

यो जग्गा किन्न माधव नेपालकै मन्त्रिपरिषदले पतञ्जलीलाई हदबन्दीमा छुट दिने निर्णय गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति