नेभिगेशन
समाज विविध

लुम्बिनीमा गौतमी भिक्षुणी विहार चपाः फल्चा निमार्ण गर्न काठमाडौँ महानगरको सहयोग

काठमाडौँ- लुम्बिनीमा अन्तर्राष्ट्रिय भिक्षुणी संघ, गौतमी भिक्षुणी विहार परिसरमा चपाः फल्चाको शिलान्यास भएको छ । आज महानगर उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी हुन् ।

त्यस अवसरमा महानगरका प्रवक्ता नविन मानन्धर, वडाध्यक्षहरु आशामान संगत, राजेशकुमार श्रेष्ठ, मचाराजा महर्जनसहित भिक्षुणी विहारका पदाधिकारीहरु सहभागी थिए । लुम्बिनीमा विदेशी शैली र स्वरुपका विहारहरु छन् । त्यहाँ नेपालीपनका कुनै पनि विहार नभएकोले यसको प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले सहकार्यमा काम गरिरहेको उपप्रमुख डंगोलले शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिइन् । 

फल्चा विहार परिसरमा रहेको पलेस्वाँ पुखुको पश्चिमतर्फ निर्माण हुनेछ । यसको लागत १ करोड ३२ लाख रुपैयाँ हो । यसमध्ये काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय भिक्षुणी संघलाई १ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने गरी सम्झौता गरेको छ । गएको चैत ३ गते सम्पन्न सम्झौता अनुसार यसको निर्माण अवधि २०८२ पुस ३० गतेसम्म हो । 

थाम, झ्यालसहित फल्चा परम्परागत नेपाली मौलिक शैली र स्वरुपमा निर्माण हुनेछ । यसले लुम्बिनीमा काठमाडौँको पहिचान प्रवर्धन गर्नेछ । फल्चाका डिजाइनर आर्किटेक्ट अमित बज्राचार्यका अनुसार २ तले फल्चाको फ्लोर एरिया ८९६ वर्गफिट हुनेछ । छानो २ पाखे हुनेछ । छानामा झिँगटी लगाइनेछ । दुवै तला खुला हुनेछन् । यसमध्ये जमिन तलामा ध्यान, साधना गर्न सकिनेछ । पहिलो तला अध्ययन र विश्रामका लागि उपयोगमा ल्याउन सकिनेछ । 


कलात्मक बज्रयान महाविहार 


लुम्बिनीमा काठमाडौँको पहिचान स्थापित गर्न महानगरपालिकाले बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको हो । 
२०७८ साल माघ २६ गते पहिलो किस्तामा ४ करोड २९ लाख १८ हजार रुपैयाँ र दोस्रो किस्ता त्यसै बर्षको चैत १७ गते थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको थियो । 


यसबाट महाविहारमा नेपाली शैलीको ‘नेपाल मण्डल, प्रवेश द्वार’ निर्माण भएको छ । यस्तै महाविहारको भुइँतलामा काठमाडौँको कला प्रदर्शन हुने कलात्मक झ्याल, ढोका, पहिलो तलाको चोकबाट पूर्वतर्फ कलात्मक झ्याल, पश्चिमतर्फ विमान झ्याल,  निर्माण गरिएको छ । 

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । 

लुम्बिनीमा भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार सञ्चालक समितिले ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको हो । महाविहार चोकको दायाँ कवलमा सहस्रभुज लोकेश्वर,बायाँ कवलमा बज्रसत्व बुद्ध मूर्ति, क्वापाद्योको बायाँ कवलमा दिपङ्कर बुद्ध मूर्ति राखिएको छ । 

परम्परागत बौद्ध धर्म संघकाअनुसार गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार निर्माण भएको छैन । यो महाविहार निर्माण सम्पन्न भएपछि ३ शताव्दीपछिको नयाँ महाविहार हुनेछ ।

गएको वर्ष दिगि छेँ (धर्मागार) अगाडि काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको ५० लाख रुपैयाँ लागतमा एउटा पोखरी निर्माण भएको छ । महानगरपालिकाका आर्किटेक्ट बज्रचार्यका अनुसार यस वर्ष ६० लाख रुपैयाँ लागतमा अर्को पोखरीको निर्माण कार्य भइरहेको छ । पोखरीसँगै वरिपरि परिक्रमा मार्ग बनाउने, हारती माताको मन्दिर बनाउनेलगायत योजनामा काम भइरहेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध