नेभिगेशन
समाज विविध

सडकमै गाडी तेर्स्याएर यातायात व्यावसायीको विरोध

काठमाडौं- गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ लाई कानूनी मान्यता दिएको विरोधमा व्यावसायीले शनिबार पनि पोखरामा आन्दोलन जारी राखेका छन् ।

शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन शनिबार पनि जारी छ। उनीहरुले सडकमै गाडी तेर्स्याएर विरोध जनाएका छन् । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन्।आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्स्याएर विरोध जनाएका छन् । उनीहरुले कालोझण्डा देखाएर विरोध र्‍याली गरेका हुन् ।

‘सार्वजनिक यातायात बचाउ अभियान’ अन्तर्गत व्यवसायीहरूले सवारी साधन सडकमा तेर्स्याएर आज एक घण्टा चक्काजाम गरेका थिए । उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरु यातायात क्षेत्रको बचाउको लागि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन् । प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को प्रयोजनको लागि दफा २२१ ले दिएको अधिकार प्रयोग गर्दै वैशाख अन्तिममा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी गदै राजपत्रमा प्रकाशित गरेको थियो ।

गण्डकीमा राइड शेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यावसायी उत्रेका हुन्। तीन सूत्रीय माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ गठन गरेका छन् । सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध