नेभिगेशन
राजनीति

दुर्गा प्रसाँई ओली–प्रचण्डका ‘नाती–छोरा’ न व्यवस्था बिरोधी ज्ञानेन्द्रका प्यादा

काठमाडौं– नेपालीमा उखान छ– बाह्र छोरा तेह्र नाती बुढाको कुम्लो काँधै माथि। नेपाली सत्ता राजनीतिदेखि व्यवस्थाबिरोधी आन्दोलनको जनकमान्डर समेत घोषित भएका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंका निम्ति यो उखान यत्तिबेला सान्दर्भिक बनेको छ।

व्यवस्थाबिरोधी राजसंस्थाको मुखियाका रुपमा रहेका ज्ञानेन्द्र शाहले पनि धाप नमारेपछि प्रसाईं अब उत्तरार्धको समयमा विर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजमा व्यावसाय गरी बस्नुको विकल्प छैन। 

निक्कै चाँडो राजनीति र व्यवस्थाबिरोधी टाकुरामा पुगेका उनी त्योभन्दा तिव्र गतिमा स्खलित बनिसकेका छन्, जब पक्राउ गरी ज्यान मुद्दा नै चलाइएको छ।

एक समय उनी नेपालका दुई कम्युनिस्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको सारथी रहेको दाबी गर्थे। त्यसको उपजमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबा र पुष्पकमल दाहाल प्रचण्डलाई बुवासम्म भन्न भ्याउँथे प्रसाईं।

माओवादी जनयुद्धबाट उठेको बताउने प्रसाईं जेलमा समेत बसेको बताउँथे। आफ्नै निवासमा चरेशको थालमा मार्सी चामलको भात खुवाएका ओली सरकारले उनलाई पक्राउ गरी थुनेको छ भने प्रतिपक्षमा रहेका प्रचण्डले मौनता साँधेका छन्।

राजा स्थापनाको आन्दोलनका लागि गाडीमा दगुरेर सामाजिक सन्जालमा ‘आओ–आओ’ भन्ने प्रहसनको भिडिओ बनाउनेगरी हर्कत देखाएका उनले बयानमा भनेका छन्,‘तीनकुने घटनाको अघिल्लो दिन ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा भेटेको थिएँ।’

व्यवस्थाबिरोधमा संयुक्त जनआन्दोलन समितिसहित राप्रपा, राप्रपा नेपाललगायतले राजसंस्था पुनःस्थापनाका निम्ति अविरल आन्दोलन घोषणा गर्दा प्रसाईंको समूह अलग हुन बाध्य भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त भनिसकेका थिए,‘दुर्गा प्रसाईंको हिंसाको भागीदार अन्य राजावादी संघ संस्था हुन सक्दैन।’

‘कुनै पनि अभियानको उद्देश्य र स्पष्ट कार्यनीति हुनुपर्छ। तर, प्रसाईंसँग त्यो केही पनि देखिएन’, राजनीतिका जानकार भन्छन्,‘दलतन्त्रमा नेतालाई फकाउनेदेखि स्वार्थ पूरा नभएपछि व्यवस्थाबिरोधी बन्नेसम्मका विषय स्थीर र चीर सिद्धान्तको आकार होइन।’

अहिले राजसंस्थावादी आन्दोलनको ‘कभर’ सोही मुद्दामा चुनावमा समेत सहभागी भएको राप्रपाले लिइसकेको छ भने पञ्चायतकालिन मन्त्री बनेका नवराज सुवेदी त्यसका संयोजकका रुपमा स्थापित गरिएको छ।

‘भाइरल भएका आधारमा राजनीति सम्भावना हुँदैन। व्यवस्थाबिरोधी नै हो भने गणतन्त्र ढलेपछि के हो त? त्यसको पूरापूर मार्गचित्र दिन सक्ने उनमा विचार पनि रहेनछ। यसकारण ज्ञानेन्द्र शाहले पनि विश्वास गर्ने आधार भएन’, प्रसाईंलाई जान्नहरु नै भन्छन्,‘गाली गरेर, हुर्मत लिएर केही समयका लागि फ्रस्टेशनको स्याब्बासी त पाइएला तर त्यो दिगो होइन।’

हुन पनि प्रसाईंका कतिपय विषय विवादीत बनेका नै थिए। उनी बैंक, बित्तिय र लघुबित्तले गरेका विभिन्न पीडितको सहानुभूतिको अभियान चलाउन पुगे। त्यहाँ चुकेका थिए। यसपछि दुबईमा अलपत्र परेका नेपाली उद्दार गरेको भन्न भ्याए पनि त्यो विवादीत बन्यो। यसरी निरन्तर चलिरहँदा उनी राजावादी आन्दोलनमा जोडिन पुगे तर उनको हिंसात्मक शैलीले नै किनारामा पारेको धेरैको बुझाई छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति