नेभिगेशन
राजनीति

संवैधानिक राजतन्त्र राजनीतिक दलहरूभन्दा माथि हुन्छः मनिषा कोइराला

काठमाडौं– बलिउडमा चर्चा कमाएकी ९० को दशककी चर्चित अभिनेत्री मनिषा कोइराला नेपाली चेली हुन् र उनी राजनीतिक परिवारकी सदस्य पनि हुन्। 

वीपी कोइरालाकी नातिनी समेत रहेकी उनले नेपालमा राजसंस्था अपरिहार्य रहेको बताएकी छन्। राजावादी आन्दोलनको पूर्वसन्ध्यामा एक वक्तव्यमार्फत उनले संवैधानिक राजतन्त्र राजनीतिक दलहरूभन्दा माथि हुने उनले बताएकी छन्।

यस्तो छ उनको वक्तव्यः
आजको दिन मेरो लागि गहिरो आत्मचिन्तनको हो, एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्दछ। म आज मेरो सार्वजनिक मञ्च जस्तैः फेसबुकबाट बोल्दै छु। किनभने मलाई लाग्छ– अब भावना होइन, सत्य र इमानदारीसाथ नेपालको दिशाबारे संवाद गर्नुपर्ने समय आएको छ।

म स्पष्ट रूपमा विश्वास गर्छु कि नेपालले संसारको एक मात्र शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्छ। जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सांस्कृतिक निरन्तरता र राष्ट्रिय एकताले निर्देशित हुन्छ।

एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ। जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै दिन सक्दैनन्। दलहरू प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन्। तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो, जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ।

अझ महत्त्वपूर्ण कुरा– आजको राजनीतिक प्रणालीमा, जहाँ भ्रष्टाचार गहिरो रूपमा पसिसकेको छ, हामीलाई एउटा गैरराजनीतिक संस्था चाहिन्छ, जसले जनता, संस्कृति र राष्ट्रको मूल्यहरूको रक्षाका लागि सन्तुलन र नियन्त्रणको काम गर्न सकोस्।

यो विभाजनको होइन, यो राष्ट्रिय पुनर्जागरणको आह्वान हो।

हामीले बिर्सनु हुँदैन। हामी केवल एउटा सानो गणतन्त्र होइनौँ, जुन अनन्त राजनीतिक खेलमा अल्झिएको छ, हामी एउटा गौरवशाली सभ्यता हौँ। जसको विशिष्ट पहिचान र भविष्यप्रति पवित्र जिम्मेवारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति