नेभिगेशन
खेलकुद

२७ करोडका ऋषव पन्तको आइपिएलमा कुल १३५ रन !

काठमाडौँ - जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्टका कप्तान ऋषव पन्त फ्लप भएपछि अहिले चर्चामा रहेका छन् ।


सोमबार सनराइजर्स हैदरावादसँग हार बेहोरेसँगै लखनउ प्लेअफको दौडबाट बाहिरिएको छ ।


यसैबीचमा आइपिएलको अक्सनका सबैभन्दा महँगो खेलाडी रहेका ऋषव पन्त यस सिजनमा फ्लप रहे । लखनउले २७ करोडमा ऋषवलाई अनुबन्ध गरेपनि उनले एक खेलमा बाहेक अन्य खेलमा २५ रनको आँकडा पनि पार गर्न सकेनन् ।


पन्तले यस सिजनमा हालसम्म ११ इनिङमा १२.२७ को औसत र १०० को स्ट्राइक रेटमा १३५ रन बनाएका छन् । यसमा केवल एक अर्धशतक समावेश छ । बाँकी १० इनिङमा उनको उच्चतम स्कोर २१ रन रहेको छ । यस सिजनमा उनले ०, १५, २, २, २१, ६३, ३, ०, ४, १८ र ७ रनको इनिङ खेलेका छन् । आफ्नो पहिलो आईपीएल सिजन अर्थात् २०१६ बाहेक, पन्तले कुनै पनि सिजनमा ३०० भन्दा कम रन बनाएका छैनन् । यो उनको दोस्रो सिजन मात्र हो जसमा उनले २०० भन्दा कम रन बनाएका छन्। २०१६ मा पन्तले १० खेलमा १९८ रन मात्र बनाएका थिए । यसमा एक अर्धशतक पनि समावेश छ ।


पन्तले आफ्नो आईपीएल करियरमा अहिलेसम्म १२३ खेलमा ३२.८८ को औसत र १४६.११ को स्ट्राइक रेटमा ३४१९ रन बनाएका छन् । यसमा एक शतक र १९ अर्धशतक समावेश छन् । उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन्, तर उनको प्रदर्शन कमजोर भएपछि उनको कडा आलोचना भएको छ । कागजमा बलियो रहेको लखनउले सो अनुसार मैदानमा प्रदर्शन गर्न नसकेपछि उनको कप्तानीमाथि नै प्रश्न उठेको छ । 


अर्कोतर्फ लखनउ फ्रान्चाइजी संजीव गोयन्काले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने सबैको चासो बनेको छ यस सिजनमा पन्तले ५९.३ प्रतिशत प्रहार नियन्त्रणमा राखेका छन्।  यसअघि पन्तभन्दा पहिले गोयन्काले लखनउका कप्तान केएल राहुलको खराब ब्याटिङपछि मैदानको बीचमा हप्काएको विषय निकै चर्चित बनेको थियो ।

पन्तले २०१७ मा १४ खेलमा ३६६ रन, २०१८ मा १४ खेलमा ६८४ रन, २०१९ मा १६ खेलमा ४८८ रन, २०२० मा १४ खेलमा ३४३ रन, २०२१ मा १६ खेलमा ४१९ रन, २०२२ मा १४ खेलमा ३४० रन र २०२४ मा १३ खेलमा ४४६ रन बनाएका छन् । उनको उत्कृष्ट इनिङ्स १२८ रन अविजित छ जुन उनले २०१८ मा सनराइजर्स हैदराबाद विरुद्ध बनाएका थिए । पन्तले गत वर्ष कार दुर्घटनापछि पुनरागमन गरेका थिए र तीन अर्धशतक बनाएका थिए, तर यस वर्ष उनी लय भन्दा बाहिर देखिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद