नेभिगेशन
समाज विविध

हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययन काम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन् ।

 बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खाने बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएको खबर छ । त्यसैगरि बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदेश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग बैठक छलफल गरी प्रिमनसुन पूर्व नै तयारी थान निर्देशन दिएका छन् । साथै विपद् प्रतिकार्यमा निजी संघ, सस्ताहरूसँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोड दिएका छन् । 

त्यसैगरी बैठकमा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए । बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध