नेभिगेशन
राजनीति

एमालेलाई ०८४ मा बहुमत ल्याउन असम्भव छैन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुुदायलाई आग्रह गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे । ‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रुपमा विकसित गर्न हामी लाग्नु पर्छ ।’

अध्यक्ष ओलीले भने, ‘हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरुले यस प्रयासमा भाँजो हाल्न सक्छन्। अराजकतावाद सदैव हाम्रो दुष्मन हो । विपक्षीहरुले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नु पर्नेछ ।’ प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे । महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति