नेभिगेशन
समाज विविध

सिंहदरबारमा प्रधानमन्त्री ओलीले यसकारण खोजे काठमाडौंका मेयर बालेन शाह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजीनीति गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको विभिन्न पक्षका व्यक्तिको बैठकमा ओलीले मेयर बालेनलाई खोजी गर्नुको कारण गणतन्त्र दिवस मूल समारोह समिति गठन र कामको विषय रहेको थियो। 

ओलीले नाम नलिए पनि यस्ता बैठकमा काठमाडौंका जनप्रतिनिधि देखा नपर्नु राम्रो नभएको बताएका थिए। जहाँ उपमेयर सुनिता डंगोल भने सहभागी रहेकी थिइन्।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएको बताइएको छ।

बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र गणतन्त्र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ। मूल समारोह समितिमा काठमाडौं महानगरपालिकाका मेयर सदस्य रहने व्यवस्था छ।

महानगर प्रमुखसहित मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । 

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध