नेभिगेशन
अर्थ विविध

नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो

काठमाडौं - नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ ।


ठूलो रकम निक्षेपमा लगानी गरेको टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।


ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । पहिले यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ ।


ब्याज आम्दानी घट्दा कुल आम्दानी नै घटेको छ । कुल आम्दानी पहिले ३१ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २८ अर्ब ४३ करोड रुपैयाँमा झर्‍यो ।


नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।

१८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ छ ।


 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध