नेभिगेशन
समाज विविध

मन्त्रीको झन्डा हल्लाउँदै अख्तियारमा पुगेका मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारमा मुद्दा दर्ता

काठमाडौं– टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बस्नेतससहित १६ जनालाई यस प्रकरणमा भ्रष्टाचारी ठहर गर्दै अख्तियारले विहीबार मुद्दा दर्ता गरेको हो।

पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनी कांग्रेसमा संस्थापननिकट रहेका छन्।

बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

बस्नेत सभापति शेरबहादुर देउवानिकट हुन्। उनलाई तत्कालिन सरकारमा सूचनामन्त्री बनाउने काम पनि देउवाले नै गरेका थिए। आक्रामक शैलीमा प्रस्तुत हुने बस्नेत विवादीत नेता हुन्। उनले पार्टीका महामन्त्री गगन थापाविरुद्ध पनि भाषणबाजी गरेका थिए भने माओवादीका माधव सापकोटालाई पनि निर्वाचन क्षेत्रमा धम्क्याएको प्रकरण सतहमा आएको थियो।

एमाले नेतासँग त उनको स्टुडियोमा नै तँ–तँ र म–म गरेर गाली गरेको भिडिओ पनि सार्वजनिक भएको थियो। मन्त्री भएका बेला नै बयानका लागि बस्नेत अख्तियार पुगेका थिए। उक्त प्रकरणबारे सदनमा रास्वपाका सांसदले कटाक्ष समेत गर्दै आएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध