नेभिगेशन
समाज विविध

ऋषिङ गाउँपालिका अध्यक्षले घर बोलाएर जग्गा बेच्नेलाई कुटे, प्रहरीमा जाहेरी दर्ता 

काठमाडौं– तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठमाथि प्रहरी छानबिन हुने भएको छ।

जग्गा विवादमा घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको जाहेरी प्रहरीमा दर्ता भएपछि श्रेष्ठमाथि छानबिन हुने भएको हो।

भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए। त्यो जग्गाको विषयमा उनीहरुबीच ८ वर्षदेखि विवादमा थियो। श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका छन्।

‘विवाद मिलाउने विषयमा जनप्रतिनिधि आवेशमा आउने कुरा हुन्न, पिटाई खाएकाको गल्ती भए पनि जनताको प्रतिनिधि आफैं गुन्डागर्दीमा उत्रिन हुन्न’, स्थानीय भन्छन्।

इलाका प्रहरी कार्यालय बेलचौतारामा जाहेरी दर्ता भएपछि श्रेष्ठविरुद्ध कुन कसुरमा मुद्दा चलाउने भन्ने जिल्ला सरकारी वकिलको कार्यालयमा छलफलको चरणमा रहेको बताइन्छ।

प्रहरीले पहिला जाहेरी नलिएका कारण हुलाकमार्फत आएको र ज्यान मार्ने उद्योग उल्लेख रहेको प्रहरी बताउँछ।

पिटाई खाएका आलेको घाउको परीक्षण, घटनाको प्रकृतिबारे अनुसन्धान सकेर मुद्दा चलाउने प्रक्रिया अघि बढ्नेछ।

प्रभात आले २०१५ सालमा तनहुँबाट कांग्रेस सांसद बनेका पदमबहादुरका छोरा तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध