नेभिगेशन
समाज विविध

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ - मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । 

पूर्वी तराईको खुवालुङदेखि पहाडै पहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुंमा) सम्म सहज रूपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेल विकास गरेको हो ।

चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको विकास गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिए ।

“ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ । यो पदमार्गले तराई, पहाड र हिमाललाई समेट्छ”, उनले भने, “ग्रेटर मुन्दुम ट्रेललाई विश्वका पर्यटकको ध्यान केन्द्रित गर्ने गरी नेपालकै पहिलो पर्यटकीय पदमार्ग बनाउने लक्ष्य छ ।”

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको समन्वयमा मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको अन्वेषणका क्रममा पदमार्ग निर्धारण, यात्रा गर्न आउने पर्यटकका लागि बास बस्न मिल्ने ठाउँ तथा ग्रेटर मुन्दुम ट्रेलका विशेषताहरूको पहिचान गरिएको छ । 

ग्रेटर मुन्दुम ट्रेलमा प्राकृतिक तथा भौगोलिक रूपमा तराईका समथर भूभागको तातो हावादेखि पहाडको चुचुरोको चिसो तुसारोसम्मको अनुभव गर्न सकिनेछ । कोशीटापुको अर्ना तथा वन्यजन्तुदेखि पहाडको घाँसे मैदानका चौरी तथा भेडा र हिमाली क्षेत्रका वन्यजन्तु देख्न सकिने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध