नेभिगेशन
राजनीति

माओवादी संस्थापन पक्षका युवा नेता चुडाललाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीको ‘अवैधानिक’ सर्कुलर

बिराटनगर– नेकपा माओवादी केन्द्रको कोशी प्रदेश कमिटीले सचिवालय सदस्य मदन चुडाललाई स्पष्टीकरण सोध्ने अवैधानिक निर्णय गरेको छ।

यो सन्दर्भ एउटा फेसबुक स्ट्याटसलाई लिएर भएको भनिए पनि त्यसको तथ्य र प्रमाण प्रदेश कमिटीले दिन सकेको छैन। उसले कृत्रिम प्रमाण देखाउन सक्ने जोखिमसहित यस्तो निर्णय गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका चुडाँललाई कमजोर बनाए कोशी प्रदेशमा आफू हावी हुन सक्ने अनुमानका बीच प्रदेश कमिटीका उपल्ला तहका नेताले यस्तो निर्णय गराएका हुन्। जसलाई सर्कुलर पनि गरिएको छ।

चुडाल अखिल क्रान्तिकारीको पूर्वकेन्द्रीय उपाध्यक्ष र इटहरी उपमहानगरपालिका इञ्चार्ज पनि हुन्। चुडाल निकट युवा विद्यार्थी नेता भन्छन्,‘अहिले संस्थापन पक्ष युवालाई अगाडि सारिरहेको छ। चुडालको प्रभावसँग आत्तिएकाले अवैधानिक निर्णय गराएको सुनियो, यसको प्रतिवाद हुनेछ।’

पार्टी केन्द्रीय उपमहासचिव जनार्दन शर्मा कोशी प्रदेश आएका बेला प्रदेश सचिवालय सदस्य मदन चुँडालले ‘पूर्वतिर मुसाको चमत्कारिक अभियान’ भन्दै फेसबुकमा स्टाटस लेखेपछि यो विवादले उग्र रुप लिएको मानिन्छ। तर, चुडालको वालमा अहिले त्यो स्ट्याटस छैन। 

‘कतिपय विषय र सन्दर्भ पार्टीका नेताका लागि हुँदैनन्। त्यहि पनि पार्टीमा मुसा उपनामका कोही पनि छैनन्। म स्पष्टीकरण दिन्नँ, यो स्याल हुइँया मच्चाउन खोजिएको हो’, चुडालले क्यानडानेपालसँग भने,‘यस्ता स्याल हुइँया पाराले पार्टीको अभियानलाई मात्र प्रभावित बनाएको छैन, प्रदेश कमिटीले हाम्रा उपमहासचिवलाई नै बदनाम गराउने खेल बनिरहेको देख्छु। यस विषयमा केन्द्रीय समितिमा उजुरी दिन सकिन्छ, समय हेरेर बसेको छु।’

‘प्रदेश परिषद् बैठकबाट पारित अनुशासन सम्बन्धि कार्यविधि विपरीत प्रदेश सचिवालय सदस्य क. मदन चुँडालले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति गलत र भ्रामक प्रचार हुनेगरी सामग्री सम्प्रेषण गर्नुभएकोले क. मदन चुँडाललाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ माओवादी प्रदेश समितिले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा भनिएको छ।

हेर्नुहोस् कमिटीले गरेको निर्णयलाई रातो घेरामा राखिएको छ।

Koshi-pradesh-1747108737.jpg
चुडाल कमजोर रहेको पार्टीको अवस्थालाई बौराउनका लागि खटिरहेका युवा नेतामा दरिन्छन्। उनी सुनसरी र इटहरीका दूरदराजमा मात्र होइन, पूर्व क्षेत्रमा नै प्रभावकारी ढङ्गले पार्टीको कार्यक्रममा सहभागी हुँदै आइरहेका छन्। 

युवालाई प्रेरित र प्रभावित बनाउँदै माओवादीको अभियानमा जुटेका चुडालको भूमिका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा पनि बलियो रहेका कारण पूर्वमा माओवादीको दरिलो उदयमा भूमिका रहेको युवा र विद्यार्थी नेता मान्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति