नेभिगेशन
राजनीति

राज्यको निशानामा राजावादी

प्रतिपक्षी कित्तामा भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवर्तन उल्ट्याउने शक्ति सलबलाउन थालेका कारण चनाखो हुनुपर्ने मतमा छन्

काठमाडौं– नेपालमा राजसंस्था फ्याँकेर गणतन्त्र घोषणा गरेको १५ जेठदेखि नै सबैखाले राजावादीले आन्दोलन चर्काउने पूर्वघोषणा गरिसकेका छन्। 

नवराज सुवेदीको संयोजकत्वमा रहेको जनआन्दोलन समिति, राप्रपा, राप्रपा नेपालदेखि राजावादी संघ संस्था आन्दोलनमा गोलबद्ध हुँदा अर्कातिर गणतन्त्र दिवसको पनि तयारी भैरहेको हुनेछ। 

राज्यले त्यसअघि नै राजावादीलाई निशानामा राखेको छ। ‘मुलुक पछाडि फर्किन सक्तैन, २५० बर्षसम्म यो देश कसले बर्बाद बनायो’, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सदनमा बोलने क्रममा प्रश्न गरेका थिए,‘जडिबुटी कारखानामा आगजनी गरेको जिम्मा कसले लिन्छ?’

उच्च स्रोतका अनुसार राजावादीको आन्दोलन यसअघि पनि हिंसात्मक रहेका कारण त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउने र कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिनेगरी तयारी भएको छ। यसको अर्थ हो, राजावादीको आन्दोलन तुहाउनेगरी राज्य तयारीमा लागेको छ।

‘परेको खण्डमा गणतन्त्रवादी पनि प्रतिरोधमा उत्रिन सक्ने अवस्था आउँछ। किनभने अहिले परिवर्तन उल्ट्याउने कामको पैरवी भैरहेको छ। यस अवस्थामा गणतन्त्र ल्याउन सहकार्य गरेका दलहरु एक ठाउँमा उभिनेछन्’, माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्,‘परिस्थिति कस्तो बन्दै जानेछ त्यसलाई पनि हामीले नियाँलिरहेका छौं।’

त्यसो त प्रतिपक्षी कित्तामा भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवर्तन उल्ट्याउने शक्ति सलबलाउन थालेका कारण चनाखो हुनुपर्ने मतमा छन्। 

उनले विभिन्न सार्वजनिक स्थानमा भनेका छन्,‘इतिहासको रथ पछाडि फर्किन्न, अगाडि बढेको रथलाई फर्काउने कोशिश र आँट नगरे हुन्छ।’

राज्यले राजावादी आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईं, राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान बढाएको छ। 

उनीहरु गत बर्षको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको राज्य तर्फको आरोप रहेको छ। ‘यी आरोपमा कुनै पनि सत्यता रहेको अवस्था छैन। मुलुकले परिवर्तन खोजेको छ तर त्यो मौलिक परिवर्तन हो’, जनआन्दोलन समितिमा प्रवक्ता अधिवक्ता स्वागत नेपालले भने,‘अब यो देशमा राजसंस्था र हिन्दूत्व चाहिन्छ भन्ने मत बलियो रहेको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति