नेभिगेशन
सुरक्षा–अपराध

इन्स्टाग्राममा डेढ महिना च्याट गरिन्, कलंकी बोलाएर झन्डै चार लाख लुटिन्ः हनिट्रयापको अर्को कथा

काठमाडौं– डेढ महिनासम्म युवसँग सामाजिक सञ्जाल इन्स्टाग्राममा च्याट गरेकी युवतीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

हनिट्रयापमा पारेर ती युवतीले अर्की आफ्नी साथीसमेतलाई बोलाएर अमेरिका जान लागेका युवासहित दुई जनाको ३ लाख ६३ हजार लुटपाट गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा वैशाख २६ गते अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन्।

गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

लुटमा संलग्न आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। हनिट्रयापमा पारेर रकम लुटिएको यो अर्को घटना हो।

प्रहरीले लुटपाटमा संलग्न नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोट घर भएका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङ घर भएकी सक्रिया खनिया र सुनसरी घर भएर कपन बस्ने कविता राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको छ।

टोखामा बस्दै आएका १८ वर्षीया सक्रियाले इन्स्ट्राग्राममा एक जना युवकलाई साथी बनाएर कुरा गर्दै आएकी थिइन्। उनले भेट्न बोलाएर लुटपाटको योजना पनि बनाइन्। अनि आफ्ना गिरोहका अन्यलाई नक्कली प्रहरी बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानले खुलेको छ। ती दुई युवाको साथमा रहेको नगद ६३ लाख र खातामा रहेको तीन लाख रकम लुटिएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध