नेभिगेशन
राजनीति

कामु गभर्नर ढुङ्गानालाई कारबाही गर्न नसक्दा गभर्नरमा आयो पौडेलको नाम, मोडियो प्रक्रिया

काठमाडौं– कायममुकायम (कामु) गभर्नर निलम ढुङ्गानालाई कारबाही गर्ने या हटाउने कुनै पनि कारण सम्भव नभएपछि गभर्नर नियुक्तिमा नयाँ मोड आएको छ।

सत्ता साझेदार नेपाली कांग्रेसको भागमा परेको गभर्नरमा गुणाकर भट्टको नाम आएको थियो। जसका लागि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। जुन राजीनामा कामु गभर्नर ढुङ्गानाले स्वीकृत नगर्दा राजनीतिक सहमति बिथोलियो। यसबाहेक गभर्नर नियुक्तिको प्रक्रिया लम्बियो। 

तर कांग्रेसले गभर्नरमा नयाँ नाम विश्व पौडेलको दिएपछि प्रक्रिया नै मोडिएको छ।

शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए।

पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो। पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए।

पौडेल गभर्नर नियुक्तिका लागि सिफारिस समितिमा थिए। उनलाई राजीनामा गर्न लगाएर थप दुई सदस्य नियुक्त गरी गभर्नरका लागि प्रस्ताव गरिने प्राथमिक चरणको सहमति बनेको छ।

‘राजीनामा स्वीकृत गरेको खण्डमा ढुङ्गानालाई स्याब्बासी दिएर भट्ट गभर्नर हुनेछन्’, उच्च स्रोतले भन्यो,‘अन्यथा विकल्पमा पौडेलको नाम अघि बढिसक्यो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी