नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्र प्रहरीले दुई दिनमै खडा गर्‍यो सीमा क्षेत्रमा एक हजार ८४४ ‘चेक प्वाइन्ट’

काठमाडौं- पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोल र १,८४४ स्थानमा चेकप्वाइन्ट स्थापना गरेको छ ।

वैशाख २३ गते मंगलबार बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोल गरिएको छ । भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ ।

सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ । वैशाख २३ गते ५ सय ६४, वैशाख २४ गते ६ सय ४० र वैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको छ । उक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाइ बाहिनी मुख्यालय मकवानपुुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरूबाट १० हजार भन्दा बढि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएको छ । तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यस प्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत गरिएको छ । यसैगरी शहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध