नेभिगेशन
राजनीति

प्रतिनिधिसभामा सांसदहरुको एकैस्वर : ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

काठमाडौं- नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभामा आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले परम्परागत र वितरणमुखी बजेट बनाउन नहुने बताएका हुन्।

उनले देश र जनतालाई केन्द्रित गरेर नीति कार्यक्रम र बजेट तर्जुमा नहुँदा आर्थिक समृद्धिले गति लिन नसकेको बताए। उनी भन्छन्, ‘यसअघिका सबै बजेट परम्परागत भएकाले विकासले गति लिन सकेन, कुनै पनि बजेटले उत्पादन र रोजगारी वृद्धिका साथै निर्यात बढाउन सकेको छैन।’

सांसद केसीले स्रोतसाधनलाई अध्ययन गरेर आत्मनिर्भरमुखी र कृषिमा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिए। बजेट ल्याउनुभन्दा तीन महिनाअघिदेखि बजेटका बारेमा छलफल गर्नुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन। यही अधिवेशनमा करिब ३२ वटा विधेयक पारित गर्नुपर्ने दायित्वमा सरकार छ।

तर, यो अधिवेशनले सबैभन्दा बढी बजेटमाथिको छलफललाई प्राथमिकता दिनुपर्ने माग सांसद केसीले गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भइरहेको दाबी गरेका छन्।

‘वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा लाग्ने प्रतिबद्धताअनुसार गठन भएको हो’ सांसद गिरीले भने, ‘सरकारमा सहभागी दलहरू सो सहमतिप्रति प्रतिबद्ध छन्, मुलुकमा सुशासन र विकास कायम गर्न र विकासलाई अगाडि बढाएर लैजान सरकार प्रतिबद्ध छ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारले जनभावना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै संविधान र कानून नमान्ने, बेथिती र विकृति बढाउने गतिविधि कसैले गर्न नहुने धारणा राखे। त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउनसमेत सांसद सापकोटाले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, लघुवित्त तथा सहकारी पीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले वितरणमुखी नभई उत्पादन र रोजगारमुखी बजेट ल्याउन सुझाव दिएकी छन्। ‘पहुँचका आधारमा नभई जनताको आवश्यकताका आधारमा बजेट बनोस्’ उनले भनिन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पहुँचका आधारमा अनुत्पादक क्षेत्रमा बजेट विनियोजन नगर्न सुझाव दिँदै जनतालाई केन्द्रमा राखेर बजेट र नीति कार्यक्रम ल्याउन आग्रह गरे। सांसद नारायणप्रसाद आचार्यले आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय उत्पादन र रोजगारी अभिवृद्धिमा तीनै तहकार सरकारबीच समन्वय आवश्यक भएको बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति