नेभिगेशन
राजनीति

मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छन्।

राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम राष्ट्रपति भण्डारीले भनिन्, ‘मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ’ सरकार सञ्चालनमा रहेका पार्टी दल केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिको आकांक्षा र महत्वाकांक्षा भन्दा हाम्रो राष्ट्रिय आकांक्षा के हो भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने बताइन् ।

उनले भनिन्, ‘दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने÷नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।’ सरकारले जिम्मेवारीबोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्, ‘राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ। पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ ।’ मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उनले भनिन्, ‘यो व्यक्ति विशेषका मनको कुरा मात्रै हो । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त ? जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गए पनि हुन्छ नि ।’ उनले देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचो औंल्याइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति