नेभिगेशन
राजनीति

ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार

काठमाडौँ - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् ।

पहिला प्रचण्डलाई तीन नेताबिचको छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको भनेर खबर गरिएको थियो । ५ बजेका लागि बोलाएको बैठकमा प्रचण्ड जाने मनस्थितिमै थिए । तर पौने पाँच बजे छलफल स्थल परिवर्तन गरेर सिंहदरबार राखिएको भन्दै सिंहदरबार आउन प्रचण्डलाई पुन: खबर गरियो । 

सोही अनुसार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा पाँच बजे नै सिंहदरबार पुगिसकेका थिए । खासगरी तीन नेताको छलफलको एजेन्डा सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने थियो । 

यसको चाँजोपाँजो प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलले मिलाएका थिए । सोही अनुसार तीन नेताबिच भेटवार्ताको तय गरिएको थियो ।  तर, सिंहदरबारमा ओली र देउवाले प्रचण्डलाई तोकिएको समयभन्दा आधा घण्टाभन्दा बढी कुरे पनि प्रचण्ड बैठकमा पुगेनन् । 

अनि प्रधानमन्त्रीको सचिवालयले प्रचण्डलाई सम्पर्क गर्दा समय अभाव भन्ने जवाफ पायो । प्रचण्ड  नगएपछि उनीविनै ओली र देउवाले सिंहदरबारमा केहीवेर कुराकानी गरेका छन् । 

यसअघि सरकारले टीआरसीका विषयमा छलफल गरेलगत्तै कुलमान हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रचण्डमाथि टीआरसीसँग कुलमान साटेको  आरोप समेत लागेको थियो । 

यसपटक पनि सरकारले कुनै निर्णय गर्ने अनि आफूलाई मुछ्नेगरी बोलाइएको त होइन भन्ने आशङ्का प्रचण्डलाई छदै थियो । 

‘यसअघिको बैठकमा झुक्याइँयो र कुलमान हटाइयो यो पटक पनि टीआरसीको छलफल गर्ने भनेर तत्काल गभर्नर नियुक्ति गर्ने र प्रचण्डको समेत सहमतिमा गरेको भन्ने प्रचार नहोला भन्न सकिँदैन त्यसले पनि बोलाउनेवित्तिकै गइहाल्न नसक्ने स्थिति बन्यो’, प्रचण्डको सचिवालयले भन्यो, ‘नेता भेट्न पनि धेरै सोचविचार गर्नुपर्ने देखियो । ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति