नेभिगेशन
राजनीति

प्रधानमन्त्रीलाई प्रश्न- १० अर्ब बढी भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको १० अर्ब बढीको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ भन्दै सरकारलाई प्रश्न गरेका छन्।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्माण सम्झौता गरेको स्मरण गराएका छन् । निर्माण सम्पन्न भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा उद्घाटन सम्पन्न भएको थियो । तर, अझैसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन भनेर सरकारलाई प्रश्न गरेका छन्। ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ’, उनले भने । अनियमिततामा संलग्नमाथि कारबाही हुनुपर्ने उनको माग छ । ‘त्यति मात्र होइन प्रधानमन्त्री ज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग त बन्न सकेन तर धावन मार्गभन्दा कैयौं गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ’, उनले भने ।

सांसद पराजुलीले भने, ‘यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना इन्ट्रेस्ट होलान् यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा त उजागर गरेको सत्य हो नि ? प्रधानमन्त्री ज्यू ।’ प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको पनि उनले स्मरण गरे । अगाडि भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’ पराजुलीको प्रश्न छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति