नेभिगेशन
खेलकुद

१८ वर्षीय एन्ड्रिक फेरि नायक

काठमाडौं- रियल मड्रिडले बुधबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल सोसिडाडलाई १–० ले पराजित गरेको छ।

रियलका किलियन एमबाप्पे अनुपस्थित थिए। हालै दाँत निकाल्नुपरेको कारण उनले मंगलबारको प्रशिक्षण गुमाएका थिए। पछिल्ला पाँच खेलमा उनले ६ गोल गरेका थिए।

उनको ठाउँ लिएका १८ वर्षीय ब्राजिलियन फरवार्ड एन्ड्रिकले पहिलो हाफमा निर्णायक गोल गरे। उनले जुड बेलिङ्घमको लामो पासलाई सदुपयोग गर्दै ‘ब्रेकअवे’ गोल गरेका हुन्।

‘एन्ड्रिकले हामीलाई धेरै मद्दत गर्‍यो,’ रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘उनले सानदार खेले। उनले आक्रमणमा मात्र होइन, डिफेन्समा पनि राम्रो योगदान दिए। टिमले राम्रो प्रदर्शन गरिरहेको छ।’

एन्सेलोट्टीले नियमित खेलाडी थिबाउ कोर्टुवा र फेडेरिको भाल्भेर्डेलाई आराम दिए। गोल पोस्टमा कोर्टुवाको ठाउँ लिएका आन्द्रिय लुनिनले उत्कृष्ट प्रदर्शन गर्दै रियललाई पहिलो लेगमा अग्रता दिलाए।

रियलले अन्तिम पटक २०२३ मा कोपा उपाधि जितेको थियो। तर, गत सिजन अन्तिम १६ मा एट्लेटिको मड्रिडसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

रियल सोसिडाडले अन्तिम पटक २०२० मा कोपा उपाधि जितेको थियो। त्यही वर्ष क्वार्टरफाइनलमा रियललाई ४–३ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद