नेभिगेशन
मनोरञ्जन

बहुप्रतिक्षित फिल्म लाज शरणम बुधबारदेखि रिलिज, बुकिङ खुल्यो

काठमाडौ - सेन्सर पास भएसँगै टेलिशृङ्खला 'सक्किगोनि टीम' द्वारा निर्माण गरिएको चलचित्र'लाज शरणम्' बुधवार नै प्रदर्शनमा आउने भएको छ । 

यसअघि, अदालतमा फिल्मका पात्रसँग सम्बन्धित मुद्दा दायर भएपछि फिल्मको प्रदर्शनमा अनिश्चितता सिर्जना भएको थियो। केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्मलाई सेन्सर प्रमाणपत्र प्रदान गरेपछि, अब देशभर प्रदर्शनको अनुमति प्राप्त भएको हो। कलाकार सागर लम्सालले फिल्मको प्रदर्शन मिति बुधबारको रूपमा पुष्टि गरेका छन्।

फिल्मको प्रचारका क्रममा उच्च अदालत पाटनको आदेशले रोक लगाएको थियो। अदालतले सेन्सर अघि फिल्मको प्रचारमा कुनै किसिमको गतिविधि नगर्न निर्देशन दिएको थियो। यसकारण, फिल्मको ट्रेलर रिलिज र एपिसोडको प्रदर्शन स्थगित गरिएको थियो।

अदालतमा नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटको कारणले अदालतले अन्तरिम आदेश जारी गरेको थियो। उनले फिल्मको पोष्टरमा आफ्नो अनुहार देखाएर अपहेलना गरिएको र विचाराधीन मुद्दामा असर परेको भन्दै रोक लगाउन माग गरेका थिए।

फिल्ममा प्रमुख भूमिका निभाउने कलाकारहरू सागर लम्साल, अर्जुन घिमिरे, प्रियाना आचार्य, हरिष निरौला, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्म कुमार कट्टेलले निर्देशन गरेका हुन्।

'लाज शरणम्' फिल्मको निर्माण जेपिटी क्रियसन ब्यानरअन्तर्गत गरिएको हो, जसका निर्माता नवीन श्रेष्ठ हुन्। फिल्मको छायांकन सुदीप बरालले गरेका छन्। 

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते बुधबार नै चलचित्र मायावी र रेशम फिलिली पनि रिलिज हुने भएको छ  तर लाज शरणमले समाचार तयार पार्दासम्म ४० प्रतिशत  हल पाएकाे जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै