नेभिगेशन
राजनीति

देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराउँदै सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए ।

“देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको सङ्ख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत रहनुपर्नेछ । यस्तो अवस्था आउन दिनु हुँदैन”, उनले भने, “प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ, उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन । मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।”

कार्यक्रममा लिटिल एञ्जलसहित विभिन्न पाँच विद्यालयका बालबालिकाले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए । उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले धनुषाको अधिवेशन स्थगित