नेभिगेशन
समाज विविध
फैसला

तत्कालिन राष्ट्रपति भण्डारीबाट उत्कृष्ट राष्ट्र सेवक पदक पाइन्, विशेष अदालतले भ्रष्टाचारी ठहर गरिदियो

काठमाडौं– मालपोत कार्यालय ताप्लेजुङको लेखा प्रमुख रहेकी पनेरु महतलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट राष्ट्र सेवकका रुपमा जनसेवाश्री चतुर्थ पदक पाएकी उनलाई विशेषले जिम्मेवार कर्मचारीले भ्रष्टाचार गर्नुले देशको सुशासनप्रति जनताको आशा गिरेको समेत उल्लेख गरेको छ।

महतले घुस लिएको भन्दै ०७९ असारमा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो । 

उनले सेवाग्राहीसँग घुसबापत एक लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएर विशेषमा मुद्दा दायर गरेको थियो। 

फैसलाको पूर्ण पाठमा महतले सेवाग्राहीको काम गरिदिन घुस रकम लेनदेनका लागि लामो समयदेखि बाध्य बनाएको उल्लेख छ। उनले सेवाग्राहीसँग प्रत्यक्ष घुस माग गरेको अडियो र रकम बुझेको भिडिओ प्रमाणका रुपमा अदालतमा पेस भएको थियो। 

अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता गर्ने कामका लागि उनले सेवाग्राहीसँग घुस मागेकी थिइन्। महतले घुससहित रंगेहात पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र सरकारबाट पदक पाएकी थिइन्। १ वैशाख ०७९ मा उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा प्रवल जनसेवाश्री पदक प्रदान गरिएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध