सर्वदलीय बैठक 

सहकारी ठगीमा संसदीय समितिबाट कांग्रेस टस न मस, रवि लामिछानेले लेखे पत्र

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं– सभामुख देवराज घिमिरेको पहलमा मंगलबार भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउने विषयबाट टसमस हुन मानेको छैन।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समितिको अडानलाई कायम राखेको हो। कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार समिति गठनबाट सबैमाथि रहेको आशंका पनि हट्नेछ। 

‘संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा गरेका छौं। सहकारीको बारेमा कुरा उठेपछि यसबारे स्पष्ट हुनु रविजीका लागि पनि रम्रो हुन्छ’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’यो एउटा व्यक्ति मात्र होइन देशको उपप्रधान तथा गृहमन्त्रीमाथि उठेको प्रश्न हो।’

कांग्रेसले कानुनभन्दा माथि कोही पनि नभएको बताएका लेखकले समिति नबनेसम्म माग जारी राखिने बताए। सदनको बजेट अधिवेशन वैशाख २८ गतेलाई डाकिएको छ। 

यसैबीच, गृहमन्त्री रवि लामिछानेले सभामुख घिमिरेलाई पत्र लेखी सदनमा जवाफ दिने मौका उपलब्ध गराउन माग गरेका छन्। आफूमाथि उठेका प्रश्नको निरुपणका लागि समय उपलब्ध गराउन उनले सभामुखलाई पत्र लेखेका हुन्।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्