नेभिगेशन
समाज विविध

यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् ।

त्रिविको ६६ औँ वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए ।

‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठुलो सङ्ख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालयमा ९० हजार विद्यार्थी हुँदैनन् ।’

यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए । पछिल्लो एक वर्षमा सुधारको काम हुन थालेको उनले दाबी गरेका छन् ।

‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको सङ्ख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालाई तीन महिनामा झार्न सफल भएका छौँ,’ कसीले भने, ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठुलो उपलब्धि लिनुपर्ने परिस्थिति छ । यसकारण ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको हो ।’

रजिस्ट्रार केदार प्रसाद रिजालले देशकै ठुलो विश्वविद्यालयको भौतिक संरचना सुधारको आवश्यकता रहेकोमा जोड दिए ।

‘देशको ८० प्रतिशत विद्यार्थीलाई सकी/नसकी सेवा सेवा पुर्‍याएको छ । धेरैको रोजाइमा त्रिवि छ ।  आज पनि ४ सय बढी प्रोग्राम सञ्चालन भइरहेको छ । यसैले राष्ट्रपति प्रधानमन्त्री उत्पादन गरेको छ । विश्वभर यहाँ उत्पादन भएका पुगेका छन् । तर पूर्वाधारको अप्ठ्यारो परेको छ,’ रजिस्ट्रार रिजालले भने ।

उपकुलपति केसीका अनुसार त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ ।

‘६४ वटा आंगिक क्याम्पस छ । ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा इकाई र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ । देशको ७७ जिल्लामा विस्तार छ,’ उनले भने ।

त्रिविले आफ्नो वार्षिकोत्सव शुक्रवार सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा मनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध