प्रचण्डलाई मञ्चमै माधव नेपालको घोचपेच, प्रधानमन्त्री भन्छन्– ०७४ जोगाएनौं, प्रयास कायम राखौं

सोमबार, वैशाख १०, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एउटा कार्यक्रमको मञ्चमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि घोचपेच गरेका छन्। 

नरबहादुर कर्माचार्यको स्मृति प्रतिष्ठानको कार्यक्रममा सोमबार अध्यक्ष नेपालले यो गठबन्धन लामो समय जाने कुरामा आशंका गर्दै आफ्नो पार्टीलाई नहेप्न चेतावनी दिए। 

उनले गठबन्धनमा आफूमाथि अपमान भएको भन्दै त्यसो नगर्न चेतावनी दिँदै गठबन्धनको आयुबारे पनि टिप्पणी गरे। अध्यक्ष नेपालले भने,‘यो गठबन्धन पनि लामो समयसम्म जाने हो कि होइन, जान्छ जस्तो लाग्दैन। खाली हेरफेर मात्र भइरहेको छ।’

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री प्रचण्डलेचाहिँ बामपन्थी एकताको प्रयास कायम राख्नुपर्ने बताए। उनले ०७४ सालमा गरेको कम्युनिस्ट एकता टिकाउन नसके पनि प्रयासलाई जारी राख्नुपर्ने बताए। 

प्रचण्डले भने,‘०७४ को चुनावमा जे प्रयोग हामीले ग¥यौँ। त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो। विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ। तर, एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ।’

नरबहादुर कर्माचार्य नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक मध्य एक मानिन्छन्। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्