बालुवाटार र सिंहदरबारतिर कांग्रेसले एक वर्ष फर्किएर हेर्नु हुँदैन : गगनकु थापा

सोमबार, वैशाख ३, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए । 

महामन्त्री थापाले २०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए । एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरूलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ थियो । सरकारमा नयाँ आएकाहरूले काँग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको पनि बताए ।

उनले भने, 'अहिले नयाँ आएका सरकारका साथीहरूले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म कांग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ । त्यो बेकारको कुरा हो । म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु, अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो ।'

कांग्रेसले नयाँ आएका पार्टीहरू सरकारमा गएको र उनीहरूलाई आलोचना पनि गर्न नहुने बताएका थिए ।

'२०८१ साल एक वर्ष नेपाली कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस्, बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ । महाराजगञ्जतिर गइहाल्ने, हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने,' थापाले भने, '२०८१ माओवादी, एमाले मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् । मल कारखाना खोल्छु भन्नेकुरा नेताले आएर दिने गफ हो यो, यसलाई नपत्याउनु होला । धेरैले अर्बौं रुपैयाँ पैसा सहकारीमा लगेर जम्मा गर्नुभएको छ । सहकारीले कयौँ राम्रा काम गरेका छन् । तर केही मानिसहरूले सहकारीको रकमको यति दुरुपयोग गर्ने अवस्था बन्यो । जसको कारणले हजारौँ मानिस सडकमा आइपुगेका छन् । ती मानिसलाई न्याय गर्नुपर्नेछ, फिर्ता गर्नुपर्नेछ । न्यायको आवाज हामी बन्नुपर्छ ।'

कांग्रेस दुई महिना अघिसम्म सरकारमा रहेपनि काम गर्न नसकेको थापाको स्वीकारोक्ति थियो । नागरिकको न्यायका लागि कांग्रेसले आवाज उठाउने उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्