बझाङमा जनक बुढालाई उम्मेदवार बनाउन सिफारिस

आइतबार, चैत १८, २०८०

सुदूरपश्चिम - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको हो । 

    बझाङ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त थियो । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आज कैलालीको धनगढीमा बसेको बैठकले प्रदेश समितिका सचिव रहेका बुढालाई प्रदेशसभा सदस्यको प्रत्याशी बनाउन सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । 

    बैठकपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव पोखरेलले चुनावमा नयाँ समीकरणमा सहभागी दलबीच सहमति बन्न नसकेमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेले उम्मेदवार घोषाणा गरिसकेको पृष्ठभूमिमा एमाले—माओवादी र समाजवादीबीच सहमति गर्ने, सहमति हुन नसके मैत्रीपूर्ण प्रतिस्पर्धा गरिनेछ ।” 

    उपनिर्वाचनका लागि सो क्षेत्रमा एमाले र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उम्मेदवार घोषणा गरिसकेका छन् । कांग्रेसलगायत अन्य दलले भने उम्मेदवारको नाम घोषणा गरेका छैनन् । नयाँ समीकरण अनुसारको प्रदेश तहमा पनि सरकार गठनका लागि आफ्नो तर्फबाट पहल गर्ने निर्णय पार्टीको प्रदेशसभा, संसदीय दलले आजै गरेको जानकारी उपमहासचिव पोखरेलले बताउनुभयो । 

    “प्रदेशसभा संसदीय दलले संसद्भित्रको बनावटका आधारमा सरकार दिन पहल गर्नेछ,” उहाँले भन्नुभयो ।  शनिबार बसेको सो पार्टीको प्रदेश समिति सचिवालयको बैठकले दुईमहिने सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार गर्नेलगायत कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम सह–इन्चार्ज बिना मगर, प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्