Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाम–२ उपनिर्वाचनः भाँडा माझेका, स्यान्डविच बनाएका सुहाङको राजनीतिक प्रस्थानविन्दुको अर्थ

मंगलबार, चैत १३, २०८०

इलाम– आगामी महिना हुने प्रतिनिधि सभाको उपनिर्वाचनका क्रममा इलाम क्षेत्र नम्बर २ मा एमालेले प्रस्ताव गरेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले पनि समर्थन गर्ने निधो गरेको छ। 

यो सुहाङको राजनीतिक प्रस्थानविन्दु हो। आफ्ना बुवा तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उत्तराधिकारीका रुपमा उनको राजनीति सुरु भएको हो। ३२ बर्षिय सुहाङका लागि बुवाको निधनपछि यो अवसर र चुनौतिका रुपमा एमालेले दिएको जिम्मेवारी हो। 

सुहाङका लागि इलाम–२ केही पेचिलो चुनावी प्रतिस्पर्धाको क्षेत्र हुने देखिन्छ। अर्थात् झिनो मतान्तरमा बुवाले जितेको ठाउँमा फेरि किल्ला गाड्नका लागि उनलाई माओवादीको समर्थन त छ तर अहिले सत्ता गठबन्धनमा रहेका अन्य दलको समर्थन भइसकेको स्थिति छैन। 

यसबाहेक कोशी प्रदेशमा देखिएको पहिचानवादी आन्दोलन र त्यसका उम्मेदवार तथा कतिपय स्वतन्त्र उम्मेदवारीका घोषणाका कारण पनि केही धक्का लाग्न सक्ने अनुमान गरिन्छ। यद्यपि, अघिल्लो गठबन्धन हुँदा पनि कांग्रेसका उम्मेदवारलाई पराजित गरेका सुवास नेम्वाङको लिगेसी र नेपाली कांग्रेसलाई साथ दिएको माओवादीको फरक निर्णयले सुहाङका लागि निक्कै गाह्रोचाहिँ हुने नदेखिने बताइन्छ। 

‘केही नयाँ दलका उम्मेदवारको विषय छ, केही पहिचानवादीको कुरा पनि छ। यस्तो बेला सुहाङको उम्मेदवारी एमाले पार्टीका लागि नै एउटा चुनौति र अवसर हो’, एमाले स्थायी कमिटी सदस्य भन्छन्,‘जित निकाल्नुपर्ने चुनौति भए पनि युवालाई प्रतिनिधि सभा छिराउन सके यो एउटा नवीन अवसर पनि हुनेछ।’

बुवा सुवासको निधनपछि सुहाङ अस्ट्रेलियाको अध्ययनसहितको रोजगारीको अवसर छाडी नेपाल फर्किएका हुन्। बुवाको सादा जीवन र सौम्य राजनीतिक यात्राको उत्तराधिकारीका रुपमा खडा भएका उनले अस्ट्रेलियामा रहँदा पनि आम नेपाली विद्यार्थीको जीवन बाँचेका थिए। 

उनले भनेका छन्,‘सुरुमा मैले भाँडा माझें, त्यसपछि स्यान्डविच पनि बनाएँ। त्यसरी संघर्ष गरेको थिएँ।’ उनले बुवालाई यस्ता कुरा एउटा मित्रका रुपमा पनि सुनाउँदा हाँस्ने र संघर्षको जीवनलाई निरन्तरता दिनका लागि हौसला पाएको पनि खुलाएका छन्।

कतिपयले बुवाको ठाउँमा छोरालाई उम्मेदवार बनाएर पारिवारिक पृष्ठभूमी र भावनात्मक राजनीति गर्न खोजेको अर्थ लगाइए पनि सुहाङ युवा समेत भएका कारण उनको यो राजनीतिक प्रस्थानविन्दु निक्कै आश्चर्यजनक र अर्थपूर्ण हुने विश्लेषण गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्