सभामुखले बोल्न समय नदिएपछि रास्वपा सांसद कार्कीले फेसबुकमै राखिन् सदनमा गर्ने प्रश्न 

बुधबार, चैत ७, २०८०

काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले बोल्ने समय र अनुमति नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्।

प्रतिनिधि सभामा बोल्नका लागि तयार पारेको विषय उनले फेसबुकमा राखेकी छन्। त्यसअघि सदनमा सहकारी र सुनकाण्डको विषय मात्र उठेको विषयमा पनि रोष प्रकट गरेकी छन्। 

यस्तो छ उनले राखेको पोस्ट, हेर्नुहोस् 

 

संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र? काठमाण्डौमा नै आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन छ।बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर अस्पतालका आईसीयु खाली छन्।यसबारेमा संसदमा बोल्न समय पाइदैन।

नियमावली अनुसार संसदमा ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ। आजकल प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ। मैले दुवै प्रकृयामा आकस्मिक समय माग गरेँ । तर समय दिईएन ।

आईसीयु नपाएका बिरामीहरुको बिजोग छ। स्थिती दिनानुदिन गम्भिर हुँदै गएको छ ।समाधान गर्न गार्हो विषय पनि होईन। समाधान छ। त्यसबारेमा संसदले निर्देशन दिन आवश्यक छ । यो लापरवाही आमनागरिकले पनि थाहा पाउन आवश्यक छ । यो विषयको अर्जेन्सीको कारण केहि दिन अघि र आज पनि निरन्तर आकष्मिक समय माग गरिरहँदा पनि समय पाईन । दिनदिनै डरलाग्दो भइरहेको यो स्थितीको गाम्भिर्यता र आकष्मिकताको मनन नभएकोमा दुख लाग्यो ।

यो समाधान नगरे समस्या झन् विकराल हुनसक्छ ।अब भोलिबाट IPU सम्मेलनका कारण १० दिन संसद नचल्ने भएको छ। तसर्थ यो विषय प्रतिनिधि सभाको सभामुख महोदय, सम्बन्धित मन्त्री र सबैमा पुगोस् भनि यहिँ राख्दैछु।

-------------------------------------------------

सम्माननीय सभामुख महोदय,

एक पटक यो तथ्यांक ध्यान दिएर सुन्न आग्रह गर्छु । एउटा अस्पताल जहाँ मेडिकल ICUमा ८ बेड छन् २ वटा थन्किएका छन् । सर्जिकल ICU १८ बेडमा १० प्रयोगमा छैनन् । रेस्पी ICU मा AC बिग्रेकोले बिरामीको तापक्रममा समस्या छ । न्युरो ICU ९ बेडमा ४ प्रयोगमा छैनन् । Gastro/Hepato ICU (११ बेड भएकोमा) पुरै बन्द गरी ताल्चा लगाईएको छ । CCU मा ९ बेडमा ५ बेड थन्किएका, Cardiology ward १८ बेडमा ९ प्रयोगमा छैनन्, जेष्ठ नागरीक वार्ड पुरै बन्द अवस्थामा छ ।अपरेसन कक्षहरुपनि पुर्ण सन्चालन हुनसकेका छैनन्, केहि मात्र सन्चालन भई बाँकी थन्किएका छन् ।

म स्वयम् प्रतक्ष त्यस असप्ताल पुगेर यो हविगत देख्दा निकै पिडा भयो ।आईसियु र भेन्टिलेटर नपाएर छटपटाईरहेका बिरामीहरुको हार गुहार र रोदन सम्झदा राज्यको अकर्मण्यता प्रति आक्रोष पनि जाग्यो। यो कहिँ दुरदराजको ठाउँ र बिरामीको अभाव भएको अस्पतालको तथ्याङ्क होइन । यो देशको सबैभन्दा पुरानो र ठूलो "बीर अस्पताल" को तथ्यांक हो । संसद भवनबाट ५ किलोमिटर भित्रै पर्छ । स्वास्थ्य मन्त्रालयबाट २ किलोमिटर भन्दा नजिक । त्यहिँ त्यस्तो छ । बिरामीको चापाचाप छ । अपरेसनका लागि महिनौँको लाइन छ तर अवस्था यस्तो छ । आईसीयु र भेन्टिलेटर नपाएर बिरामीहरू तड्पिरहेका र मरिरहेका छन् ।

त्यसमा अघिल्ला स्वास्थ्यमन्त्रीको नजर नपुगेको होइन । उहाँको नजर परेको मात्रै होइन, एउटा भनाई छ नि, आँखा लाग्यो भन्ने । त्यस्तो चै भयो । सेवामा के फरक पर्छ नभनी उहाँले व्यवस्थापनलाई ध्वस्त बनाइदिनु भयो। आशा छ, अहिलेका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ ।

त्यहाँ काम गर्न एकदमै गाह्रो पनि होइन । ८३१ दरबन्दी स्विकृत भएकोमा पदपुर्ती गरिएको छैन । त्यो गरिहाल्नुपर्नेछ । गत कार्तिकमा पूर्वस्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरु निकालिदिनुभयो यता स्वास्थ्यकर्मी बेरोजगार छन् , उता काम गरिरहेका स्वास्थ्यकर्मी हतोत्साहित छन् । बालबच्चादेखि वृद्धसम्म यो र त्यो अस्पतालमा ICU छ कि भन्दै दौडिन पर्ने भएको छ तर भएका ICU हरु खाली अवस्थामै बन्द छन् । राज्यलाई यो तहसम्मको नालायक हुन हालका स्वास्थ्यमन्त्रीले दिनु हुन्न भन्ने आशा छ । र, स्वास्थ्यमन्त्रालयले गर्नु पर्ने सूचिमा सबै भन्दा माथि राखेर यो काम तत्काल, आज र अहिलैबाट गर्न सुरू गरियोस्, अस्पतालको ट्रलीमा, अस्पताल अगाडि एम्बुलेन्समा बिरामी राखेर ICU खोज्दै यहाँ र त्यहाँ फोन घुमाउँदै कहालिएका नागरिकहरूले थाहा पाउने गरेर यो अस्पतालमा यतिवटा आइसियु छन् यति खाली छन् भनि हेर्न मिल्ने व्यवस्था वेबसाइट मार्फत बनाइयोस् भनि स्वास्थय मन्त्रालयलाई अनुरोध गर्दछु । धन्यवाद ।

 


 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्