एकतर्फी प्रेमले रुपेन्द्रलाई बनायो हत्या संदिग्ध, प्रस्ताव अस्वीकार गर्दा सुष्माले ब्यर्थै ज्यान गुमाइन्

आइतबार, चैत ४, २०८०

काठमाडौं– गोकर्णेश्वर–३ तारेभिरकि १८ बर्षीया सुष्मा लामाले प्रेम प्रस्ताव अस्वीकार गर्दा ब्यर्थै ज्यान गुमाएको खुलेको छ।

उपत्यका अपराध अनुसन्धान महाशाखाले हत्याका संदिग्ध २१ बर्षिय रुपेन्द्र लामालाई पक्राउ गरी अनुसन्धान गरेपछि यस्तो खुलासा भएको हो।

आठ महिनाअघि रुपेन्द्रले सुष्मालाई प्रेम प्रस्ताव गरेका थिए। तर, सुष्माले अस्वीकार गरेपछि हत्या गरेको रुपेन्द्रले प्रहरीलाई दिएको बयानमा उल्लेख छ। एकतर्फी प्रेम गरेका रुपेन्द्र यसैकारण हत्या संदिग्ध भएको महाशाखाको भनाई छ। उनीमाथि थप अनुसन्धान जारी छ।

हत्यापूर्व आठ दिनदेखि सुष्माको रेकी गरेका रुपेन्द्रले खाल्डो खन्न कोदालोको प्रयोग गरेको खुलेको छ। टाई र जुत्ताको तुनाले घाँटीमा कसेर रुपेन्द्रले हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। 

त्यसपछि मृतकको मोबाइल र पुस्तक भने उनले लिएर गएका थिए। सुष्मा बुढानिलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। 

माघ २५ गते सुष्मा लामा तीनदिनदेखि हराएको भनि प्रहरी बृत्त बौद्धमा आफन्तले खोजतलासका लागि निवेदन दिएका थिए।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्