ठमेलमा काले पासाङ र झोलेरामको गुन्डागर्दी, क्यासिनोमा हप्ता असुली गर्न धम्कीका शिलशिला 

मंगलबार, फागुन २२, २०८०

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकामा इन्काउन्टर सुरु गरेपछि अन्डरग्राउन्ड भएका गुन्डा फेरि सलबलाउन थालेका छन्।

प्रहरीको उपत्यका अपराधन अनुसन्धान विभागले केही समयअघि नाम चलेका गुन्डा नाइकेको इन्काउन्टर गरेपछि टोले गुन्डासम्म गुप्तबासमा पुगेका थिए। तर, जब प्रहरी मौन बसेको चाल पाएका छन् तिनीहरू फेरि पुरानै शैलीको गुन्डागर्दी, हप्ता असुली र मिटरब्याजमा फर्किएका प्रमाण फेला पर्न थालेका छन्। 

यसको पछिल्लो उदाहरण हो, छायाँ सेन्टरस्थित वाल्डो क्यासिनोका सञ्चालकलाई आइरहेको हप्ताको माग र नदिए ज्यान मार्नेसम्मको धम्की। कपन बस्ने काले पासाङ भन्ने पासाङ लामा र लैनचौर बस्ने झोलेराम भन्नेले व्यावसायी, सर्वसाधारणलाई अचाक्ली दुख मात्र दिएका छैनन् हाकाहाकी हप्ता माग गरी ज्यान मार्ने धम्की दिन थालेका छन्। 

स्रोतका अनुसार नाम चलेका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनको समूहको भन्दै यी दुवै जनाले अहिले हप्ता असुलीलाई तिव्रता दिएका छन्। 

कतिपय आपराधिक गतिविधिका कारण प्रहरीले निगरानीमा राखेका यी दुवै जनाले वाल्डो क्यासिनोका सञ्चालकलाई ज्यान मार्ने धम्की दिएको अडिओ समेत फेला परेको छ।

उक्त अडिओमा हप्ता माग गरिएको छ भने नदिए ज्यान लिनु कुनै ठूलो कुरा होइन भनी धम्क्याइएको पनि छ। 

काठमाडौंमा बलियो कमान्ड भएका अपराध अनुसन्धानमा अब्बल अधिकारी भएका बेलामा नै यसरी धम्कीका शिलशिला आउनुलाई सर्वसाधारणले आश्चर्यजनक हिसाबले लिएका छन्। 

काठमाडौं परिसरमा अब्बल भनिएका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भूपेन्द्र खत्रीको कमान्ड रहेको छ भने अपराध अनुसन्धान महाशाखामा अर्का चर्चित एसएसपी सोमेन्द्रसिंह राठौरको कमान्ड छ। तैपनि गुन्डागर्दीले अहिले विभिन्न एरियामा ‘स्पेस’ पाइरहेका छन्। 
यता अपराध महाशाखाले भने गुन्डागर्दी गर्नेलाई निगरानीमा राखिएको र तिनीहरूविरुद्धको कारबाहीको तयारी भएको समेत जानकारी दिएको छ । एक अधिकारी भन्छन्,‘धम्क्याउने, हप्ता असुली गर्ने सबैको जानकारी हामीले राखेका छौं, निगरानीमा रहेका छन्।’ 
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्