मिटरब्याजपीडित भन्छन्- सरकारले न्याय नदिएसम्म घर फर्किँदैनौँ

शनिबार, फागुन १२, २०८०

काठमाडौँ -लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौँको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।

मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका निम्ति गठित आयोगको म्याद सकिएको उनको भनाइ छ ।

मिटरब्याजपीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख रुपैयाँ ऋण लिएकामा ३० लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताइन् । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्