एमाले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक

गठबन्धन सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको छ : अध्यक्ष ओली

मंगलबार, फागुन ८, २०८०

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार राष्ट्रलाई बोझ भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार पूर्णरुपमा असफल रहेको बताउँदै सरकार जति दिनसम्म रहन्छ, त्यो राष्ट्रलाई बोझ हुने बताएका हुन् । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षमा केही पनि गर्न नसकेको उल्लेख गरे । उनले भने, ‘आफू सुधिने बताएका प्रधानमन्त्री प्रचण्डको सुधिने कुनै संकेत छैन । चारैतिर भ्रष्टाचार व्याप्त छ । सरकारका मन्त्रीहरु झण्डा हल्लाउदै अख्तियारसमक्ष बयान दिन पुगिरहेका छन् । त्यस्ता मन्त्रीहरुले न त आफैँ राजीनामा दिन्छन्, न त तिनीहरुलाई हटाउने आँट प्रधानमन्त्रीमा छ । यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको छ ।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरुले न्याय पाउने गरी टुंग्याउनुपर्ने धारणा राखे । ‘प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनिच्छा देखाएकै कारण संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन १८ वर्षदेखि रोकिएको छ । पीडितले न्याय पाउने कुरामा हाम्रो पार्टीको स्पष्ट अडान रहँदै आएको छ’ उनले भने ।

अध्यक्ष ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा सुद्धीकरण र सुदृढीकरण सम्बन्धमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरे । त्यस्तै, पार्टीको संगठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदवाव सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरे ।

बैठकमा प्रस्तुत अवधारणाहरु उपर छलफल गरी निचोडमा पुग्नका लागि स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समुह विभाजन गरिएको छ । 

तीन दिनसम्म सञ्चालन हुने बैठकमा प्रस्तुत अवधारणाउपर भोलिदेखि समूहगत छलफल सुरु हुने केन्द्रिय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । गौतमका अनुसार बैठकमा झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ुमिसन ग्रासरुटु अभियानका सकारात्मक प्रभावका विषयमा समेत समीक्षा हुने   ।

b3f1c5b2-730e-4219-825b-7bc0f841510d-1708441515.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्