पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– सरकारले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार पहिलो वर्गअन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्