पाकिस्तानमा आज मतदान, निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विष्फोटमा २८ जनाको मृत्यु

बिहीबार, माघ २५, २०८०

काठमाडौं - पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा दुईवटा बम विष्फोट गराइएको छ । विष्फोटमा परी २८ जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

निर्वाचनलाई विथोल्ने उद्देश्यले गराइएका दुबै विष्फोटको जिम्मेवारी विद्रोही समूह ईस्लामिक स्टेटले लिएको छ । विष्फोट उम्मेद्वारको कार्यालय नजिकै गराइएको अधिकारीहरुले बताएका छन् ।

पहिलो विष्फोट क्युता शहरको उत्तरतर्फ गराइएको थियो । जसमा १६ जना मारिएका छन् । यसैगरी १२ जनाको ज्यान जाने गरी भएको दोस्रो विष्फोट पूर्वतर्फको क्वीला सेफुल्लामा भएको हो ।

मतदान हिंसा र धाँधलीको दाबीले प्रभावित भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको आरोपमा जेलमा रहेका खानले आफू माथि राजनीतिक प्रतिशोध लिइएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री नवाज सरिफ भने चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगका अनुसार देशभर ९० हजार छ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार राष्ट्रिय सभा वा संसदको तल्लो सदनका लागि दुई सय ६६ वटा साधारण सिटसहित कूल पाँच हजार एक सय २१ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

यसैगरी प्रदेश सभाका लागि चार प्रान्तका पाँच सय ९३ सिटमा १२ हजार छ सय ९५ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्