Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल–भारत सम्बन्ध

भारत हिन्दू राष्ट्र बनाउने मोदी चाहनाको पराकम्पन नेपालमा, राजावादी त्यसै हौसिएका होइनन्

मंगलबार, माघ २३, २०८०

काठमाडौं– नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाको बहस अनि अभियान चलिरहेका बेला भारतमा राम मन्दीरको प्राण प्रतिष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदीको उत्साहपूर्ण उपस्थितिले राजनीतिक वृत्तमा नयाँ बहसको आयाम छेडीसकेको छ।

कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम सेवक दलको प्रभाव र भारतीय जनता पार्टीको सत्तारोहणसहितको प्रभावभित्र मोदी मुलुकलाई हिन्दू राष्ट्र बनाउने चाहनामा छन्। 

सन् २०२४ को लोक सभा निर्वाचनबाट अर्को कार्यकालका लागि प्रधानमन्त्री पदमा रहने मोदीको चाहनासँगै भारतले हिन्दू राष्ट्रको यात्रा तय गर्नेछ। त्यसको पूर्वसन्ध्यामा राम मन्दीरको प्राण प्रतिष्ठालाई लिइएको थियो।

स्वतन्त्रता र गणतन्त्रका हिमायती मानिएका महात्मा गान्धीको लोकप्रियतालाई खस्काउँदै कट्टर हिन्दूवादी तथा गान्धीका हत्यारा भनिएका नाथुराम गोड्सेलाई पनि राजनीतिक दर्शनकारी मान्न थालिएको भारत विश्वमा नेपालले गुमाएका एक मात्र हिन्दू राष्ट्रको उपमा लिने होडमा रहेको विश्लेषण गरिएको छ। 

यो किन पनि चर्चामा छ भने अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा भारत हिन्दुत्वको पक्षमा अगाडि उभिएको भन्ने उल्लेख थियो। यति मात्र नभएर त्यसको प्रभाव नेपालमा पनि रहेको भनी चर्चा गरिएको थियो। 

भारतीय प्रधानमन्त्री मोदीको यो चाहनासँगै नेपालमा पनि हिन्दूत्वको आवाज विभिन्न पक्षबाट बलियो भएर उदाइरहेका छन्। चाहे त्यो विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाई आवरणमा होस् वा राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल होस् वा राजा ज्ञानेन्द्रको देशाटनका क्रममा देखिएको हौसला होस्।

यो एजेन्डाले परिवर्तनको मुख्य शक्ति भनिएको नेपाली कांग्रेसलाई पनि प्रभावित बनाइसकेको छ।    

नेपाली कांग्रेसभित्र पनि हिन्दूत्वको विषयले तिव्र बहस छेडेको छ। व्यवस्था जेसुकै भए पनि हिन्दू राष्ट्रको बहसले सभापति शेरबहादुर देउवालाई पनि बोल्न बाध्य बनायो। यसैकारण उनले मिहिन स्वरमा भनेका छन्,‘संविधानमा केही त गलत भएको छ। हिन्दूत्वको आवाजलाई सम्बोधन गर्नुपर्छ।’

हिन्दूत्वको विपक्षमा रहेको नेकपा माओवादी केन्द्रको शक्ति क्षीण हुँदै जानु, क्रान्तिकारी भनिएका मोहन वैद्य किरण पनि नयाँ शिराबाट छलफल आवश्यक रहेको भन्ने निचोडमा पुग्नु र राजाको सक्रियतासहित कांग्रेसमा छेडिएको बहसले राजावादी हौसिएका हुन्। 

यसबाहेक हिन्दूत्वको विषयमा दोस्रो ठूलो शक्ति रहेको नेकपा एमालेभित्र पनि बहस सुरु भइसकेका छन्। यो बहस ६०–४० मा रहेको पाइन्छ।

यति मात्र होइन हिन्दूत्वको विषयमा व्यापक काम गरिरहेका भारतका कतिपय विङ्सले सुसुप्त ढङ्गले नेपालमा पनि अभियानको सुरुआत गरिसकेको बताइन्छ। त्यस्ता शक्तिले नेपालका विभिन्न क्षेत्रमा, नागरिकलाई प्रभावित बनाउने तहमा लगानी समेत गर्न सक्ने अनुमान गरिएको छ। 

‘नेपालमा हुने अभियानको धेर थोर प्रभाव भारतमा पनि पर्नेछ। यो अभियानलाई भारतले नजिकबाट नियाँलेर नै आफ्नो चाहनालाई अभिव्यक्त गर्न सक्छ’, उच्च स्रोतले भन्यो,‘भारतको त्यो अभिव्यक्तिको प्रत्यक्ष र परोक्ष प्रभाव नेपालमा पर्दा राजावादी, हिन्दूवादी हौसिने ठाउँ स्वभाविक रुपमा बन्नेछ।’
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्