यता मन्त्रीको चेतावनी, उता जनताको साथः कसले रोक्ला बालेनको हात?

मंगलबार, माघ २३, २०८०

काठमाडौं– न्युरोडका व्यापारी व्यावसायी, सोही क्षेत्रमा रहेका कार्यालयमा काम गर्ने कर्मचारीदेखि सर्वसाधारणसम्मले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहराको पार्किङ निशुल्क गरेकोमा खुसी छन्। 

सहरी विकास मन्त्रालयले धरहराको निर्माण कार्य पूरा भइनसकेको भनी उक्त पार्किङ खुलाएको बारे स्पष्टिकरण सोध्दै बन्द गर्नका लागि महानगरलाई पत्र लेखेको थियो। तर, बालेनले नरोक्ने निर्णय लिँदै आम साधारणको सहजताका लागि काम गर्ने आक्रोशित प्रतिक्रिया दिए। 

सर्वसाधारण सहरी विकास मन्त्रालयको पत्रको आलोचना र बालेनको समर्थनमा खुसी छन् । ‘हो, यस्ताचाहिँ नेता हुनुपर्छ। मेयर भनेको बालेन जस्तो जनहितको काम गर्ने हुनुपर्छ’, सुन्धारास्थित पार्किङबाट फर्किएका एक सर्वसाधारण भन्छन्,‘बालेन जिन्दावाद। अरु मुर्दावाद।’

ताम्राकार कम्प्लेक्सका एक व्यापारी पनि सोही ठाउँमा पार्किङ गर्छन् । व्यापारीले सो ठाउँमा पार्किङ गरी कम्प्लेक्सको पार्किङ ग्राहकका लागि मात्र तयार पारेको उनले बताए । उनले यस्तो सुविधाका लागि बालेनलाई धन्यवाद समेत दिए । 

निक्कै सर्वसाधारण बालेनसँग खुसी छन्, शिवाय सहरी विकासमन्त्री सीता गुरुङ। मन्त्रालयको पत्रबारे वेवास्ता गरे परिणाम नराम्रो हुने उनको चेतावनी थियो।

मन्त्री गुरूङले धरहराको निर्माण कार्य पूरा नहुँदै महानगरले जबरजस्ती ढंगले पार्किङ गर्ने व्यवस्था गरेको बताएकी छन्। 

त्यो विधिको शासन भित्र नपर्ने भन्दै उनले काम गर्नेलाई समय दिनुपर्छ, वातावरण हुनुपर्छ भन्ने वकालत गर्दै बालेनको बिरोध गरिन्।

उनले भनिन्, ‘पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने? निर्माण व्यवसायीहरूले हामीलाई हस्तान्तरण गरेको अवस्था छैन। निर्माण सम्पन्न भएपछि हामीले महानगरपालिकासँग छलफल गरेर वा कार्यविधि बनाएर सञ्चालन गर्ने कुरा छ। निर्माण सम्पन्न नभई महानगरले जबरजस्त रूपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन हो।’

त्यसो त महानगर एक कदम अगाडि सरेर पार्किङ स्थलमा अग्नी नियन्त्रणका निम्ति आवश्यक सामग्री राख्न थालिएको छ भने अक्सिजनका लागि पनि थप काम भइरहेको महानगरले जनाएको छ। 

यसबाट जनता अझ खुसी छन्।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्