विमानस्थल प्रमुख डीआईजी चन्दको राजीनामा कारण असई निलम्बन होइन, गम्भीर हुन सक्छ!

आइतबार, माघ २१, २०८०

काठमाडौं– जागिर अवधि १४ महिना बाँकी रहँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख नायव महानिरिक्षक (डीआईजी) अर्जुन चन्दको राजीनामाको कारण मिडियामा कर्मचारी कारबाही र पत्रमा घरयासी भनिएको छ। 

तर यति कारणले मात्र डीआईजी जस्तो पदबाट चन्दले राजीनामा नदिने आँकलन गरिएको छ। विमानस्थलमा पटक–पटक भएका विभिन्न घटनामा उनको अनुपस्थितिको कारणभित्र राजीनामाको ‘कारण’ लुकेको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि प्रहरी प्रधान कार्यालयमा चन्दले व्यक्तिगत कारण भनी खुलाएका थिए। ‘अलि मुडी टाइपको मानिस त हो तर राजीनामा नै दिनुपर्ने स्थिति भन्नेचाहिँ बुझ्न सकिएन’, उनलाई जान्ने एक पूर्वअधिकारी भन्छन्। 

मिडियासँग पनि चन्दले व्यक्तिगत कारण भनी खुलाएका छन्। 

उनको राजीनामाको महत्व किन पनि छ भने यो शंकास्पद भेटिन्छ। किनभने, ६१ किलो सुन भन्सार पार भई विमानस्थलसम्म पुग्दा उनी विदामा रहेका थिए। त्यसलाई शंकाको घेरामा राखेर जाँचबुझ आयोगले छानबिन गरिरहेको पनि छ। 

विमानस्थल प्रहरी प्रमुख भएका कारण यस विषयमा पनि बयान लिइसकिएको छ। आयोगले एक महिनापछि बुझाउने प्रतिवेदनमा उनको कमजोरीसहितको राय बुझाउन सक्ने भएपछि राजीनामा दिएको हुन सक्ने पहिलो कारण हो। 

अर्कोतर्फ, प्रहरी जस्तो फौजी संगठनमा कतिपय कर्मचारीलाई निलम्बन गर्ने र चित्तबुझ्दो जवाफ पाएपछि जागिरमा निरन्तरता दिने गरिन्छ। एक जना असईका लागि मात्र भनेर डीआईजी जस्तो पदबाट राजीनामा दिने कुरामा विश्वासको आधार नरहेको कतिपय प्रहरी अधिकारी बताउँछन्। 

खासगरी विमानस्थल प्रहरी प्रमुख हुनका लागि नै जोडबल गर्ने प्रचलन नै छ। तर, बाहल हुँदाहुँदै चन्दको राजीनामा आश्चर्यको घेरामा राखेर हेर्न सकिने कतिपय अधिकारी बताउँछन्। 

त्यसो त असईले अध्यागमन प्रमुखमाथि गरेको हात हालाहालको स्थितिमा पनि चन्द विदामा थिए। ‘घरयासी कारण भए पनि केही लामो विदा लिएर वा सहज हुने ठाउँमा सरुवा मागेर जान सकिन्छ। प्राय गरिने त्यहि हो तर उनका निक्कै कमजोरी देखिएका कारण राजीनामा दिएर सुरक्षित बसेको हुनसक्छ’, अधिकारीहरू बताउँछन्। 

त्यसो त प्रहरी समायोजनको कुरा अगाडि बढेको र ऐन नै परिवर्तन गरी जागिर बढ्ने स्थितिमा डीआईजी जस्तो उच्च ओहदाको पदबाट राजीनामा दिनु असामान्य निर्णय भएको र त्यसभित्रको कारण पनि सामान्य नहुने स्पष्ट हुन्छ।

पूर्वप्रहरी कर्मचारी संगठनका अध्यक्ष बसन्त कुँवरको राय पनि यहि थियो। उनले असई कारबाहीको चित्त नबुझे प्रधान कार्यालयमा बिमति राख्ने स्थिति हुँदाहुँदै राजीनामा नै गर्न नपर्ने राय सार्वजनिक गरिसकेका छन्। 
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्