नेभिगेशन
सुरक्षा–अपराध

रेशमलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्टको विवादित घटना कम रहेनछन्

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई केही घण्टा थुनामा राख्न बाध्य बनाउने एक पत्रपछि सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट फेरि विवादको केन्द्रमा आएका छन्।

विष्टले लेखेको पत्रका कारण चौधरीलाई बुधबार थुनामा राखिएको थियो। तर चौधरीलाई जेलमा राख्ने पत्र लेख्ने विष्ट पटकपटक विवादमा आइरहने पात्र हुन् ।

उनी सिन्धुपाल्चोकमा गाविस सचिव हुँदादेखि नै विवादमा आएका पात्र हुन् भने नुवाकोटमा श्रेस्तेदार र कञ्चनपुरमा तहसिलदार हुँदासमेत विवादमा मुछिएका थिए ।

विष्टले गरेका विवादित घटना

सर्वाेच्च अदालतमा सेवा प्रवेश गर्नुअघि विष्ट नायब सुब्बाका रूपमा सिन्धुपाल्चोककै साविकको एउटा गाउँ विकास समितिमा सचिव थिए । सोही क्रममा गाविसका अध्यक्षसँग उनको विवाद भयो । विवाद बढेपछि विष्टले गाविस अध्यक्षलाई नै सरुवा गरिदिन्छु भनी धम्की दिएको चर्चा सर्वाेच्च अदालतमा अझै चल्ले गर्दछ । पछि ती गाविस अध्यक्ष डराएर सरुवा गराउन मिल्छ र भन्दै जिल्ला विकास समितिसम्म पुगेका थिए ।

विष्ट नुवाकोटमा हुँदा समेत न्यायाधीश र कर्मचारीसँग विवादमा मुछिएका थिए । आफू बिहानै कार्यालयमा आउने भएकाले अन्य कर्मचारी पनि कार्यालय समय अगावै कार्यालयमा आउनु पर्ने भन्दै धम्क्याउन थालेपछि पुराना कर्मचारीले राजीनामा समेत बुझाएका थिए । त्यसबाहेक तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहसँग समेत उनको विवाद भएको थियो ।

सेवाग्राही महिलालाई न्यायाधीश आफैँले फोन गरी मुद्दा जिताइदिन्छु भनी यौन सम्पर्क गर्न बोलाएको भन्दै विष्टले उजुरी गरेका थिए भने पैसा खाएर मुद्दाको जितहार गराएको आरोप लगाएका थिए । न्यायाधीश र अन्य कर्मचारीसँग विवाद बढेपछि सर्वाेच्च अदालतले विष्टको सरुवा गराएको थियो ।

नायब सुब्बाबाट शाखा अधिकृत भई नुवाकोटमा स्रेस्तेदार बनेका विष्ट पछि कञ्चनपुर जिल्लामा तहसिलदार बनेर गएका थिए । दुई वर्ष अगाडि उनी कञ्चनपुरको तहसिलदार बन्दा स्रेस्तेदार बिदामा रहेको समयमा निमित्त स्रेस्तेदारको जिम्मेवारी सम्हालेका थिए । सोही समयमा एक कानुन व्यवसायीले ल्याएको निवेदन दरपीठ गरेपछि उनी फेरि विवादमा तानिएका थिए ।

कञ्चनपुर जिल्ला अदालत बारले विष्टको सम्बन्धमा विज्ञप्ति नै निकालेर विरोध गरेपछि सर्वाेच्च अदालतले विष्टलाई कञ्चनपुरबाट तानेर सर्वाेच्च अदालतमा काजमा राखेको थियो । तर बुधबार फेरि यिनै विष्टले अर्काे कान्ड गरे ।

सर्वोच्च अदालत प्रशासन र आफ्नै महाशाखा प्रमुखसँग समेत समन्वय नगरी विष्टले रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेखेपछि उनी फेरि विवादमा आएका छन् । यसपटकको विवाद सामान्य नभएर जटिल प्रकृतिको रहेको र क्षेत्राधिकार नाघेको कारण उनीमाथि कारबाही गर्ने तयारी गरिएको छ ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको समयमा उनले रेशम चौधरीलाई थुनामा राख्न भन्दै पत्रमात्रै काटेनन्, राष्ट्रपतिले अपराधको राजनीतीकरण गरेको आरोपसमेत लगाए । अनि कैलाली जिल्ला अदालतबाट कैदी पुर्र्जी आउँदै गर्छ, अहिलेचाहिँ थुनामा राख्नु भन्दै पत्र लेखेपछि उनीमाथि नै छानबिन र कारबाहीको तयारी गरिएको छ । विष्टलाई यतिबेला सर्वाेच्च अदालतमै ‘होल्ड’मा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!