काठमाडौँमा महिलाको हत्या गरि फरार भारतीय नागरिक पक्राउ 

आइतबार, माघ ७, २०८०

काठमाडौँ– काठमाडौँको शोभाभगवतीमा एक महिलाको हत्या गरि फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै शोभाभगवतीस्थीत एक घरमा तनहुँको भिमाद घर भएका सफिना मियाको हत्या गरि फरार रहेका भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

शोभाभगवतीस्थित सरिता गिरीको घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । शव गलेको अवस्थामा रहेकाले तीन महिना अघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भूपेन्द्र बहादुर खत्रीले जानकारी दिए । प्रहरीका अनुसार सफिना मियालाई हत्या गरि इकरामुल भारत भागेका थिए । त्यसपछि काठमाडौं फर्केका इकरामुललाई कालीमाटीबाट पक्राउ गर्न सफल भएको खत्रीले बताए ।

काठमाडौँ आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिभिङ टुगेदरका क्रममा आपसी वादविवाद भएपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । हत्या गरेपछि ढोकामा ताला लगाएर भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्