फर्जी नागरिकता प्रकरण

रुविनाका कारण मेयर सिंहविरुद्ध दर्जनबढी उजुरी, प्रशासनको छानबिन समितिले के गर्दैछ ?

आइतबार, माघ ७, २०८०

काठमाडौं– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र प्रधानमन्त्री कार्यालयमा समेत गरी दर्जन भन्दा बढी उजुरी परेका छन् ।  

राम्रो काम गरेको भनी चर्चा बटुल्न अनेक हत्कण्डा अपनाइरहेका मेयर सिंहविरुद्ध फर्जी विवरण पेस गरी एक युवतीलाई नागरिकता दिलाएको आरोपमा उजुरी परेको हो ।  

फर्जीको विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएका थिए। यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति समेत गठन गरेको थियो। तर कारबाहीका लागि तत्परता नदेखाएको भन्दै गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पनि उजुरी दाखिला गरिएको बताइन्छ।

पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरूले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । यति मात्र होइन मेयर सिंहसहित नागरिकता लिने रुविना श्रेष्ठमाथि कारबाहीको माग गर्दै पर्सा प्रहरीमा थप उजुरी परेको छ । 

नागरिकता काण्ड बाहिरिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा छानबिन समिति समेत गठन गरेर अनुसन्धानको अख्तियारी दिएका थिए। उक्त समितिले छानबिन जारी राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सिंह गत निर्वाचनमा जनता समाजवादी पार्टीबाट मेयरमा निर्वाचित भएका थिए । दोस्रो पटकको उम्मेदवारीमा उनी निर्वाचित भएका थिए । त्यसअघि ०७४ मा नेकपा एमालेबाट उनले मेयरमा उम्मेदवारी दिँदा पराजित भएका थिए ।

मेयर सिंह विभिन्न प्रकरणमा बेलामौका चर्चामा आउने गरेका छन्। यसअघि एक युवतीसँगको सम्बन्धको विषयको समाचार आएपछि प्रेस काउन्सिलमा उजुरी दिँदा सिंहको चर्चा भएको थियो भने एक पटक क्रिकेट खेल्ने क्रममा लडेर हात भाँचिदा पनि चर्चा भयो। 
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्