सिरियामा इरान निकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, पाँच जनाको मृत्यु

शनिबार, माघ ६, २०८०

काठमाडौँ- इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ, “इजरायली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाइएको र पाँच जनाको मृत्यु भएको छ । इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ ।”

सिरियामा रहेका स्रोतहरूको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार लक्षित इलाका इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसी र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ ।

अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले भन्नुभयो, “ती समूहका वरिष्ठ सदस्यहरूलाई लक्षित गरेर आक्रमण गरिएको थियो ।”

सिरियाको सरकारी सञ्चार माध्यमले पनि मध्यरातमा भएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्